जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । जसपाको अध्यक्षका हैसियतमा महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ ।
जसपाको विवादमा सर्वोच्च अदालतले आज दुवै पक्षलाई बोलाएको छ । निर्वाचन आयोगले पार्टी दर्ता हुँदा बखतका कार्याकारिणी समितिका सदस्यलाई मात्र मान्यता दिने भन्दै गत सोमबार दुवै पक्षलाई सशरीर उपस्थित गराएर पार्टीको आधिकारिकताबारे टुंगो लगाउने आदेश कानुनसम्मत नभएको भन्दै त्यसलाई रोक्न महन्त ठाकुर पक्षले अन्तरिम आदेश मागेको थियो ।
तर, न्यायाधीश कुमार रेग्मीको एकल इजलासले ठाकुर पक्षको मात्र तर्क सुनेर अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । रेग्मीको इजलासले आज दुवै पक्षलाई बोलाएर अन्तरिम आदेश दिने नदिने विषयमा निर्णय गर्न लागेको हो ।
रिट निवेदनमा ठाकुरले कार्यकारिणी समितिकै विवाद निरूपण नगरी निर्वाचन आयोगले सिधै बहुमत र अल्पमतको परीक्षण गर्न थालेको भन्दै त्यसलाई रोक्नसमेत माग गरेका थिए । यसैबीच निर्वाचन आयोगले उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षलाई जसपाको आधिकारिकता दिइसकेको छ ।