युरोकप २०२० मा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनल खेलमा स्पेनले स्विट्जरल्याण्डलाई पराजित गरेको छ ।
खेलको सुरुवाति ८ मिनेटमा नै स्विट्जरल्याण्डका डेनिस जाकारियाले आफ्नै पोष्टमा आत्माघाति गोल गर्न पुगे । सोही गोलबाट स्पेनले अग्रता बनाएको थियो ।
दोस्रो हाफको ६८ औं मिनेटमा स्विट्जरल्याण्डका कप्तान जोर्डन शाकिरीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेलको ७७ औं मिनेटमा रेमो फ्रेउलरले रेडकार्ड पाएर मैदान बाहिरिएपछि स्विस टिम १० खेलाडीमा सिमित हुन परेको थियो ।
खेलको ९० औं मिनेटसम्म स्पेन र स्विट्जरल्याण्ड १-१ गोलमा रोकिएका थिए । अतिरिक्त ३० मिनेटको समयमा पनि दुबै टिमबाट गोल हुन सकेको थिएन । अन्तत: क्वाटरफाइनलको पहिलो खेलमा नै पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टीमा स्विट्जरल्याण्डले ४ प्रहारमा १ गोल गर्न सक्यो भने स्पेनले ५ प्रहारमा ३ गोल गर्दै खेलमा जित निकालेको थियो ।
खेलमा जित निकालेसँगै स्पेन सेमिफाइनलमा पुगेको छ ।