सर्वोच्च अदालतको अन्तरिम आदेशको भोलिपल्ट प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेतासँग छलफलमा जेटेका छन् । अदालतले जसपाका राजेन्द्र महतोसहित २० जना मन्त्रीको नियुक्ति खारेज गरेसँगै ओलीले आगामी रणनीति तय गर्ने विषयमा छलफल गरेका हुन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले पछिल्लो घटनाक्रमका बारेमा बुधबारदेखि आन्तरिक छलफल थालेका छन् । उनले बिहानैदेखि आफूनिकट नेताहरूसँग छलफल र परामर्श अघि बढाएका हुन् ।
मंगलबार मात्रै स्वास्थ्यमन्त्रीबाट पदमुक्त भएका एमाले कार्यालय सचिव समेत रहेका शेरबहादुर तामाङले पार्टीको स्थायी कमिटी बैठक बोलाएर छलफल गर्ने तयारी भइरहेको जानकारी दिए । उनले पार्टीले पछिल्लो घटनाक्रमका बारेमा गम्भीर छलफल गरेर नै समाधान निकाल्ने बताए ।
ओलीले अदालतको आदेश लगत्तै पदमुक्त भएका मन्त्रीहरूलाई बालुवाटार बोलाएर छलफल गरेका थिए । छलफलमा ओलीले पार्टीमा छलफल गरेपछि कसरी अघि बढ्ने भनेर निर्णय गर्ने बताएका थिए ।
त्यसपछि उनले आगामी रणनीतिका लागि आफूनिकट नेताहरूसँग छलफल गरिरहेको बालुवाटार स्रोत बताउँछ । राजनीतिमा अदालत हाबी भएको भन्दै उनले असन्तुष्टिसमेत जनाएका छन् ।
–मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश, २० मन्त्री पदमुक्त
–ओलीले जेठ २१ र २७ गते विस्तार गरेको मन्त्रिपरिषद्लाई बदर गरेको सर्वोच्चको आदेशमा के छ ? [पूर्णपाठ]