युरोकप २०२० मा सोमबार राती चार खेल भए । जसमा समूह ‘सि’ र समूह ‘बि’को खेल भएको थियो ।
समूह ‘सि’ अन्तर्गत नेदरल्याण्ड नर्थ मेसेडोनियाविरुद्ध मैदान उत्रिएको थियो । जसमा नेदरल्याण्ड ३-० ले विजयी भएको छ । यस खेलमा जित निकालेसँगै नेदरल्याण्ड समूह विजेता बनेको छ ।
नेदरल्याण्डका लागि मेम्फिस डिपाईले २४ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता बनाए । दोस्रो हाफमा कप्तान जर्निनियो विचनल्डेमले नेदरल्याण्डका लागि दुई गोल थपे । उनले ५१ औं र ५८ औं मिनेटमा लगतार दुई गोल गरेका थिए ।
नेदरल्याण्डले समूह ‘सि’मा रहेका तिन वटै टिमलाई पराजित गरेको छ । नर्थ मेसेडोनिया भने तिन वटै खेलमा पराजित भएर समूह चरणबाट नै बाहिरिएको छ ।
यस्तै, समूह ‘सि’बाट अस्ट्रिया पनि नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राती भएको खेलमा युक्रेनलाई १-० ले पराजित गर्दै अस्ट्रियाले नकआउटमा स्थान बनाएको हो । अस्ट्रियाका लागि खेलको २१ औं मिनेटमा क्रिस्टोफ बौमगर्नरले विजयी गोल गरेका थिए ।
यसअघि नर्थ मेसेडोनियाविरुद्ध जित निकालेको अस्ट्रिया दुई विजयी खेलबाट जम्मा ६ अंक पाएको छ । समूह ‘सि’को दोस्रो स्थान कब्जा गर्दै अस्ट्रिया नकआउट चरणमा पुगेको छ ।
समूह चरणको तिन खेलमा युक्रेनले पनि नर्थ मेसेडोनियाविरुद्ध मात्र जित निकाल्न सकेको थियो । यसअर्थमा युक्रेन ३ अंक सहित समूहको तेस्रो स्थानमा छ । युक्रेन नकआउट चरणमा पुग्न सक्छ वा सक्दैन भन्ने निर्णयको लागि अन्य समूहको नतिजाको प्रतिक्षा गर्नुपर्ने हुन्छ ।
०००
सोमबार राती भएको खेलमा समूह ‘बि’मा रहेको डेनमार्कले रसियाविरुद्ध शानदार जित निकाल्दै आफूलाई नकआउट चरणमा प्रवेश गराएको छ । डेनमार्कले रसियालाई ४-१ को अन्तरले हराएको छ ।
खेलको ३८ औं मिनेटमा मिक्केल डम्सगार्डले पहिलो गोल गर्दै डेनमार्कका लागि अग्रता बनाएका थिए । दोस्रो हाफको ५९ औं मिनेटमा डेनमार्कका युसुफ पलसेनेले गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।
७० औं मिनेटमा रसियाले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अर्टेम डिज्युबाले खेललाई २-१ मा ल्याएका थिए । तर, ७९ औं मिनेटमा आन्द्रेस क्रिस्टेनसेनले डेनमार्कका लागि तेस्रो गोल गरे । खेलको ८२ औं मिनेटमा डेनमार्कका जोकिम मिहीले थप गोल गर्दं खेललाई ४-१ बनाए ।
फिनल्याण्ड र बेल्जियमसँग हारेको डेनमार्क ३ अंकसहित समूहको दोस्रो स्थानमा पर्न सफल रह्यो । गोल अन्तरका कारण ३ अंक नै पाएको रसिया भने चौथो स्थानमा पर्यो र समूह चरणबाट बाहिरियो ।
सोमबार नै फिनल्याण्डविरुद्ध जित निकालेर बेल्जियम समूह ‘बि’को समूह विजेता बनेको छ । सोमबार राती भएको खेलमा फिनल्याण्डलाई २-० ले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको हो ।
खेलको पहिलो हाफ गोलविहिन बनेको थियो । दोस्रो हाफको ७४ औं मिनेटमा डेनमार्कमा गोलरक्षक लुकास ह्राडेकीले आत्माघाती गोल गर्न पुगे । खेलको ८१ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमको अग्रतालाई २-० बनाएका थिए ।
बेल्जियमले समूह चरणको तिन वटै खेल जित्दै ९ अंक जोड्यो । यता डेनमार्कलाई हराएको फिनल्याण्ड भने ३ अंकसहित तेस्रो स्थानमा छ । फिनल्याण्ड नकआउट चरणमा पुग्ने नपुग्ने निधो छैन । त्यसको लागि अन्य समूहको नतिजा कुर्नुपर्ने छ ।