नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने बताएका छन् ।
शनिबार जनकपुरमा विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले गठबन्धन दलको बैठक बस्ने बित्तिकै समस्या समाधान हुने गरी अदालतको बारेमा आफूहरुले दृष्टिकोण बाहिर ल्याउने बताएका हुन् ।
गठबन्धन दलका नेताहरु कोही कता, कोही कता हुने स्थिति रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलाइ भएको उनको भनाइ छ । गठबन्धन दलभित्र कुनै विवाद नरहेको दावी उनको छ ।
‘सरकारले पूर्णता पाईसकेपछि कामहरुले पनि विस्तारै गति लिन थाल्दैछ। काठमाडौंमा अहिले नेताहरु कोही कता, कोही कता भएको हुनाले हामीले बैठक बस्न १/२ दिन ढिला भएको छ,’ उनले भने, ‘बैठक बस्ने बित्तिकै हामी आफ्नो धारणा बाहिर ल्याउँछौं । यसलाई समाधान गर्ने दृष्टिकोणले नै हामी हल गर्छौं । गठबन्धन स्मुथ्ली चलिराख्या छ । कुनै विवाद राजनीतिक वा अन्य विवाद आएको छैन ।’


