• vacancy ad
  • भारतमा आज शक्तिशाली चक्रवात बज्रिने सम्भावना, नेपालमा कस्तो प्रभाव पर्ला?

  • Ad Space available
  • काठमाडाैँ । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र हिजो शनिबार शक्तिशाली चक्रवातमा परिणत भएको भारतका मौसमविद्ले बताएका छन्। जसलाई ‘गुलाब’ नामकरण गरिएको छ।

    भारतको मौसम विभाग (आईएमडी) का अनुसार चक्रवात आउन सक्ने सम्भावना विचार गरेर उत्तरी आन्ध्र प्रदेश र यसको दक्षिण ओडिसाका तटीय क्षेत्रमा अलर्ट जारी गरिएको छ। ​

    ad space

    आईएमडीको तुफान चेतावनी प्रभागले चक्रवाती तुफान पश्चिमतर्फ अघि बढ्दै आइतबार साँझसम्म उत्तरी आन्ध्र प्रदेशको कलिंगपत्तन र दक्षिणी ओडिसाको गोपालपुर तटको बीचबाट जाने सम्भावना रहेको जनाएको छ। ​

    आईएमडीले भनेको छ, ‘उत्तर–पश्चिम र यससँग जोडिएको पश्चिम मध्यबंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र पछिल्लो ६ घण्टामा प्रतिघण्टा ७ किलोमीटरको गतिमा पश्चिमतर्फ बढिरहेको छ र चक्रवात ‘गुलाब’ मा परिणत भएको छ।’

    नेपालमा कस्तो प्रभाव पर्ला?
    भारतमा विकसित गुलाब चक्रवातको प्रभाव नेपालमा पनि आंशिक पर्ने मौसमविद्ले बताएका छन्। 

    मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु व्यासीका अनुसार गुलाब चक्रवातको आंशिक प्रभाव नेपालमा पर्सि मंगलबारदेखि पर्ने देखिएको छ। 

    ‘नेपालबाट त्यो चक्रवात अलि टाढै भएकाले धेरै प्रभाव पर्ने देखिँदैन, तर पर्सिदेखि आंशिक प्रभावचाहिँ पर्ने देखिएको छ’, मौसमविद् व्यासीले आइतबार बिहान नेपालखबरसँग भनिन्, ‘नेपालमा मौसम बदली गराउने र देशभर मध्यमसम्म वर्षा गराउनेसम्म हुने अनुमान छ।’

    उनका अनुसार थप अनुमान भने त्यो चक्रवात जमिनमा ठोक्किएपछि गर्न सकिन्छ।  

    ‘चक्रवात जमिनमा ठोक्किएपछि त्यो कुन दिशातिर जान्छ भन्ने कुराले नेपालमा पर्ने प्रभावको आकलन गर्न सकिन्छ’, मौसमविद व्यासीले भनिन्, ‘अहिलेसम्मको अनुमानअनुसार सुरुमा यसले नेपालको पूर्वी क्षेत्रमा प्रभाव पार्ने र बिस्तारै देशभर असर फैलिने देखिन्छ।’

    भारतीय मौसमविद्ले त्यो चक्रवात आज साँझसम्म आन्ध्र प्रदेश र ओडिसा राज्यका तटीय क्षेत्रमा जमिनमा बज्रिने सम्भावना रहेको भन्दै त्यस क्षेत्रका बासिन्दालाई सजग रहन सुझाव दिएका छन्। 

  • ad space
  • सिफारिस
    लोकप्रिय