प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भदौ ३० गतेभित्र बजेट पारित गरिसक्नुपर्ने विषय बिर्सेर प्रतिनिधिसभाको बैठक असोज ४ गते सम्मका लागि किन सारियो भन्ने प्रश्नको सरकारले जवाफ दिनुपर्ने बताएको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आफूलाई इच्छा लागेको विजनेश स्वेच्छाचारी ढंगले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय बिर्सेझैं हाउस असोज ४ गते किन सारियो यसको जवाफ यो गैरजिम्मवार सरकारले दिनुपर्छ । यो नभएका काम जति सबैको दोष प्रतिपक्षमाथि थोपर्न खोज्ने सुतुरमुर्ग चाल मात्र हो । सरकारको यसप्रकारको रवैयाप्रति हाम्रो पार्टी नेकपा (एमाले) खेद व्यक्त गर्दछ ।’
आर्थिक वर्ष सुरु भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेका कारणले नै आजको वित्तीय संकटको परिस्थिति सिर्जना हुन पुगेको एमालेले जनाएको छ । उनले समाभुख र सरकारको तर्फबाट प्रतिपक्षको सहमतिबिना नै संसदको काम कारबाही अघि बढाउने काम भइरहेको बताएका छन् ।



