नवगठित नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको कुनै कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन् ।
दुई महिनाअघि भारतमा उपचार गर्न गएर सोमबार फर्केका नेता खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँगको कुराकानीका क्रममा कार्यकारी पदमा नबस्ने घोषणा गरेका हुन् । ‘मसँग अब कुनै कार्यकारी पोष्ट माग्ने नैतिक अधिकार छैन । ७० वर्ष पुगिसकेको छु’ खनालले भने।
आफ्नो जीवन नाफाको भएको बताउँदै सास रहुञ्जेल देश, राष्ट्र राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विस्तार गर्ने बताए । ‘मेरो जीवन नाफाको हो, बोनस हो । सास रहुञ्जेल देश, राष्ट्र राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विस्तार र समाजवाद निर्माणको काममा समय खर्चिनुछ’ नेता खनालले भने । दिगो शान्ति स्थापना गर्ने र समाजवादको बाटोमा सम्पूर्ण जीवन समर्पित गर्ने उनको भनाई छ ।
उनले कम्युनिस्ट आन्दोलन फुट र विभाजनमा जान नसक्ने भन्दै केपी ओलीको पार्टी गुट र अहंकार व्यक्तिवादको प्रतीक बनाएकाले आफूहरुले विद्रोह गर्नुपरेको पनि बताए । ‘विद्रोह फुट होइन । यो विद्रोह थोरै मान्छेको हो कि जस्तो लाग्नसक्छ, तर सयौं, हजारौं र लाखौं हुँदै क्रान्तिको विकास हुन्छ । अहिले यो झिल्कोका रुपमा मात्रै छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल २ असारमा उपचारका लागि भारत गएका आएका थिए । उनले भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका हुन् । खनाललाई उनकी श्रीमती रविलक्ष्मी चित्रकारकी दिदीकी छोरी मेरिना चित्रकारले मिर्गौला दिएकी हुन् ।
त्यहाँ उपचाररत छँदा नेपालमा एमाले विभाजित बनेपछि उनी एकीकृत समाजवादीका पक्षमा लागेका थिए । नयाँ पार्टी दर्ता प्रक्रियाका लागि उनले भारतस्थित नेपाली दूतावासमार्फत सनाखत गरेका थिए ।