• vacancy ad
  • युवा समाजवादको सेना बन्नुपर्छ: अध्यक्ष प्रचण्ड

  • Ad Space available
  • काठमाडाैं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले युवा समाजवादको सेना बन्नुपर्ने बताएका छन्।

    पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालको आजदेखि सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष दाहालले समाजवादी आन्दोलन सफल पार्न युवाको पहलकदमी आवश्यक रहेको बताए।

    ad space

    उनले समाजवादको नेतृत्व गर्नेगरी युवाले क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।
    माओवादी केन्द्रले युवालाई नेतृत्वमा ल्याउन पार्टी विधानमै सबै कमिटीमा २० प्रतिशत आरक्षणको व्यवस्था गरेको उनले जानकारी दिए।

    आफूले केही समयपछि उपयुक्त नेतृत्वलाई पार्टी नेतृत्वको जिम्मा दिई संस्मरण लेख्न चाहेको बताउँदै युवाको नेतृत्व विकास गर्न आफू लागिरहेको उनको भनाइ थियो ।

    समाजवादी आन्दोलनको तयारीका लागि तत्कालीन नेकपा(एमाले)सँग एकता गरे पनि नेतृत्वले धोका दिएकाले एकता लामो समय टिक्न नसकेको उनको तर्क थियो ।

    ठूलो मेहेनतले अहिलेको सत्तारुढ पाँच दलको गठबन्धन बनेको जिकिर गर्दै अध्यक्ष दाहालले भने, “यो गठबन्धनलाई रक्षा र सुदृढ गर्नु अहिलेको आवश्यकता हो ।”

    उनले अगाडि भने, “अब सबै चुनौती सकियो भन्ने छैन, गठबन्धनलाई भत्काउने, पुरानै दिशातर्फ लैजाने प्रयास भइरहेको छ । यसतर्फ युवा सचेत हुन आवश्यक छ ।”

    अर्को प्रसङ्गमा उनले विज्ञान प्रविधिको उच्चतम रूप प्रयोग गरी भेला गर्न सफल भएकामा वाइसिएललाई बधाई तथा धन्यवाद व्यक्त गरे।

    उनले भने, “प्रविधिको प्रयोगबाट समय, खर्चलाई कटौती गरेर कार्यक्रम गर्न सकिन्छ भन्ने पुष्टि वाइसिएले गरेको छ । यो एउटा प्रेरणा र शिक्षाको रुपमा रहनेछ, यसका लागि वाइसिएललाई धन्यवाद, नेपालको कम्युनिस्ट आन्दोलनमा विज्ञान प्रविधिको प्रयोगको हिसाबमा यो भेला एउटा माइलस्टोन हुनेछ ।”

    भेलामा बसिराख्दा आफू विसं २०३८ मा भारतको काशीनगर भन्ने ठाउँमा भएको युवा भेलामा आफू युवाको नेताको रूपमा सहभागी भएको स्मरण गर्दै उनले भने, “यो ४० वर्षको समीक्षा मैले गरेको छु ।”

    भेला सफलताको शुभकामना दिँदै अर्थमन्त्री एवं माओवादी केन्द्रका सङ्गठन विभाग प्रमुख जनार्दन शर्माले समाजवादको दिशा निर्माण गर्न पार्टी नेतृत्वलाई सहयोग गर्ने दायित्व वाइसिएलको काँधमा रहेको बताए।

    कम्तीमा १५ लाख युवालाई वाइसिएलमा सङ्गठित गरी उनीहरूलाई उत्पादन र रोजगारीमा जोड्ने गरी योजना बनाउन वाइसिएल नेतृत्वलाई उनले निर्देशन दिए।

    वाइसिएललाई अब परिवर्तनको उपलब्धिको रक्षा गर्ने, रक्षकको रूपमा, सामाजिक, सांस्कृतिक रुपान्तरण, आर्थिक विकास र समृद्धिको संवाहकको रूपमा विकास गर्न आवश्यक रहेको उनको भनाइ छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय