एजेन्सी। अमेरिकी सेनाले अफगानिस्तानमा रहेको इस्लामिक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको जनाएको छ।
अमेरिकी अधिकारीहरूले काबुल विमानस्थलमा १७० जनाको ज्यान लिने गरी गरिएको हमलाको योजनाकारलाई निशाना बनाइएको जनाएका छन्।
अमेरिकाले नान्गाहार प्रान्तमा गरिएको सो हमलामा एउटा ड्रोनको प्रयोग गरिएको जनाएको छ।
काबुलमा रहेका अमेरिकी अधिकारीहरूले थप आक्रमणहरूलाई ध्यान दिँदै विमानस्थलको प्रमुख क्षेत्रहरूभन्दा परै बस्न नयाँ चेतावनी जारी गरेका छन्।
वरिष्ठ तालिबान अधिकारीहरूले उनीहरूले काबुल विमानस्थलको मुख्य भाग नियन्त्रणमा लिएको र अमेरिकीहरू जाने बित्तिकै सम्पूर्ण विमानस्थल कब्जामा लिने बताएका छन्।
अमेरिकाले अन्तिम समयसम्म अफगानहरूको उद्धार जारी राख्ने र विमानस्थल अझै पनि आफ्ना फौजको नियन्त्रणमा रहेको बताइरहेको छ।
शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीवारको आत्मघाती आक्रमणमा संलग्न जिहादीलाई अमेरिकाले नछाड्ने बताएका थिए।
इस्लामिक स्टेट खुरासान अर्थात आइएस-के भन्ने समूहले आक्रमणको जिम्मेवारी लिएको थियो।
इस्लामिक स्टेट समूहको एउटा तल्लो संगठनका रूपमा रहेको उक्त समूह अफगानिस्तानको सबैभन्दा उग्र र हिंसात्मक जिहादी लडाकु समूह हो।