जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार १२:३० मा टुहुरेको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
१० दिनअघि कलंकीस्थित घरमा एक्कासि लडेपछि उनलाई बयोधा अस्पतालमा भर्ना गरिएको थियो । उनको आइसियुमा उपचार भइरहेको थियो । मस्तिष्कघाटपछि उनको मस्तिष्कको ७० प्रतिशत भागमा असर पारेको र दायाँ भागमा रगत जमेको अस्पतालले जनाएको थियो । उनको उपचारको खर्च सरकारले भर्ने निर्णय गरेको थियो । टुहुरे ७८ वर्षका थिए ।
सुनसरीको धरान घर भएका टुहुरे विसं २०२४ सालदेखि प्रगतिशील सांस्कृतिक क्षेत्रमा लागेका हुन् । दोस्रो संविधानसभामा उनी नेकपा (माओवादी) केन्द्रका तर्फबाट संविधानसभा सदस्य थिए । उनको आजै अन्त्येष्टि गरिने भएको छ । त्यसभन्दा अघि पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालयमा अन्तिम श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर राखिने भएको छ ।
उनले आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर, बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ, यो देश मुठ्ठीभरलाई त स्वर्ग छ जस्ता जनप्रिय गीत गाएका छन् ।