काठमाडौँं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार राजीनामा दिने भएका छन् । उच्च स्रोतका अनुसार त्यसका लागि नेकपा एमाले संसदीय दलको बैठक बिहीबार बिहान ११ बजेलाई बोलाएको छ । उक्त बैठकमा दलको नेताबाट शेरधन राईले राजिनामा दिने तयारी गरेका छन् । सोही बैठकले भीम आचार्यलाई दलको नेता चयन गर्ने जनाइएको छ ।
बैठकको एजेण्डा महत्वपूर्ण भएकोले अनिवार्य उपस्थित हुनुपर्ने निर्देशनसहित बिहीबार ११ बजेका लागि दलको बैठकमा सहभागी हुन बोलाइएको एमालेका एक सांसदले जानकारी दिएका छन् । बिहीबार बस्ने एमाले संसदीय दलको बैठकले आचार्यलाई नेता चयन गरेपछि मुख्यमन्त्री शेरधन राईले राजिनामा दिने र बिहीबार नै आचार्यले मुख्यमन्त्रीको सपथ लिने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ ।
यता भीम आचार्य भने काठमाडौंमा छन् । उनी बिहीबार बिहानको पहिलो उडानबाट विराटनगर ओर्लिने तयारीमा रहेको जनाइएको छ । ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमाले एक्लैसँग ५१ सांसद छन् । जुन प्रदेशसभाको स्पष्ट बहुमत हो । एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।
माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा एमालेको केन्द्रीय सदस्य समेत रहेका प्रदेश सांसद राजेन्द्र कुमार राई र राजन राईले बिहीबार सनाखतमै हस्ताक्षर गरिसकेका छन् ।
प्रदेश १ मा एमालेबाट नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा जाने सांसदको संख्या ९ जना रहेको भनिए पनि अहिले त्यो संख्या घटिसकेको एमाले स्रोतको दाबी छ । संसदीय दलभित्रैबाट बहुमत नजिक पुगेकोले बिहीबार नै दलको बैठक बोलाइएको जनाइएको छ ।