काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहमा आवद्ध जिल्ला सभापतिहरुले आगामी सोमबारसम्म क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गरेका छन्।
उनीहरुले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासँग आगामी सोमबारसम्म क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गरेका हुन्।
सभापति देउवालाई इमेलमार्फत तीन बुँदे मागपत्र बुझाउँदै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न माग गरिएको नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए।
पौडेल समूहका सभापतिहरुले क्रियाशील सदस्यता सूचीका त्रुटिमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्डबमोजिम सत्यतथ्य छानवबि गरेर मात्रै अन्तिम रुप दिन माग गरेका छन्। त्यस्तै निर्वाचन प्रक्रियामा सबै जिल्ला सभापतिको एकरूपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्न पनि माग गरेका छन्।
उनीहरुले माग सम्बोधन नभए आगामी मंगलबारबाट केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने चेतावनीसमेत दिएका छन्।
‘हाम्रा मागहरुलाई सम्वोधन गर्ने गरी यही भदौ ७ गतेभित्र आवश्यक कदम नचालिएमा भदौ ८ गतेदेखि केन्द्रीय कार्यालयमा धर्ना, अनसन लगायत आन्दोलनमा उत्रन बाध्य हुने छौँ’ मागपत्रमा भनिएको छ।