• vacancy ad
  • घनश्याम, याेगेशसहित एमालेका नौ नेताको विज्ञप्ति : हामी एकताको उपाय खोज्दैछौँ

  • Ad Space available
  • काठमाडौं । माधव नेपालको साथ नदिएका एमालेका ९ जना नेताले पार्टीको विवाद समाधानका लागि बनाइएको कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन नुहँदा पार्टी फुटेको बताएका छन् । बिहीबार राति संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले १० बुँदे सहमति कार्यान्वयन भएको भए पार्टी नफुट्ने दाबी गरेका छन् ।

    ‘कार्यदलले सिफारिस गरेको सहमति एकताको बलियो आधार थियो, त्यसले पार्टी पंक्तिमा आशा र उत्साह जगाएको थियो । तर, त्यस सिफारिसलाई नेताहरूले ग्रहण गर्न र समझदारी लागू गर्न नसक्दा पार्टी नै विभाजन हुने स्थिति सिर्जना भयो,’ विज्ञप्तिमा भनिएको छ ।

    ad space

    उनीहरूले सरकारले जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशले फिर्ता लिन पनि माग गरेका छन् ।

    ‘अध्यादेशले नेपालको राजनीतिमा फेरि पनि अस्थिरता निम्त्याउने स्थिति बनेको छ । यसबाट राजनीतिक स्थायित्व, राष्ट्रिय स्वाधीनता, हित, स्वाभिमान र समृद्धिको लागि गरिने सम्पूर्ण कदमहरुमा धक्का लाग्नसक्ने छ । यसले नेकपा एमालेमा मात्र संकट आउने नभई सम्पूर्ण राजनीतिक पार्टीहरुमा समेत प्रभाव पार्ने र राजनीति अनिश्चयको दलदलमा फस्ने खतरा भएकोले यस अध्यादेशलाई तत्काल फिर्ता गर्न माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

    अहिले आफूहरू विभाजित पार्टी एकताका लागि प्रयास गरिरहेको बताएका उनीहरूले माधव नेपाल पक्षका १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन आग्रह गरेका छन् । उनीहरूले १० बुँदे सहमति कार्यान्वयन गर्नसमेत आग्रह गरेका छन् ।

    ‘अध्यादेशपछि विभाजित पार्टीको एकताका लागि हामी सम्भव सबै उपायको खोजी र अवलम्बनमा क्रियाशील छौँ । पार्टीलाई विभाजन र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयन गर्न हामी हार्दिक आग्रह गर्दछौँ । पार्टी अध्यक्षको हैसियतले पार्टीको हितमा अधिकतम् लचिलो हुँदै वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल लगायत १४ जनालाई गर्ने भनिएको कारबाही लगायत सबै प्रकारका कारबाही रद्द गर्न हामी हार्दिक आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

    नेताहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन् । ​

  • ad space
  • सिफारिस