काठमाडाैं। संघीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको छ।
प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर बैठकलाई जानकारी गराए।
साउन ३ गते प्रारम्भ भएको अधिवेशनमा २९ दिन चल्यो। हालसम्म १० बैठकमा २० घण्टा १५ मिनेट संसदीय काम भयो।
त्यसमा आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८, यौन हिंसा विरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी सुपरिवेक्षण गर्ने अध्यादेश, तेजाब तथा अन्य घातक पदार्थ नियमन गर्ने अध्यादेश, २०७८ र कोभिड– १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ लगायत प्रस्तुत भए।
प्रतिनिधिसभाको चालू अविधेशनमा कुनै पनि नयाँ विधेयक सदनमा दर्ता भएनन्। यही साउन ३ गते दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए।