एजेन्सी। जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कास्कीले दुर्घटना न्यूनीकरण अभियानलाई तीव्रता दिएका छन्। संयुक्त प्रयासमा सवारी साधनको स्वरुप परिवर्तन गर्ने, लेन अनुशासन पालना नगर्ने, ‘जिकज्याक’ बाइक कुदाउनेका विरूद्ध प्रहरीले विशेष निगरानी बढाएको हो।
त्यस्तै ग्रामीण भेगमा सञ्चालित सवारीसाधनको अवस्थाबारे जानकारी लिने र सवारी साधनलाई राम्रो अवस्थामा राखेर मात्रै यात्रुलाई सेवा दिन अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए।
उनका अनुसार पछिल्लो दुई दिनमा २६ वटा दुई पाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ। मोटरसाइकलकोस्वरूप परिवर्तन गरी चलाउने, गाउँ टोल नै थर्कने गरी आवाज निकाल्ने, जथाभावी र लेन अनुशासन विपरीत सवारीसाधन चलाउने सातवटा बुलेट, ११ वटा क्रसफायर र अन्य आठवटा मोटरसाइकललाई नियन्त्रणमा लिई कारवाही गरिएको उनले जानकारी दिए।
सवारी नियम उल्लंघन गर्नेविरूद्ध अभियानकै रूपमा कारवाही गरिएको बताउँदै उनले पछिल्ला दुई महिनायता यस्तो कार्य अन्तर्गत करिब दुई सयको हाराहारीमा मोटरसाइकल कारवाहीमा परिसकेको जानकारी दिए। बन्दाबन्दी खुकुलो भएसँगै पोखरामा बढ्दो चाप र घुमफिरमा वृद्धि भएको छ।
सवारी साधनकोस्वरुप परिवर्तन (मोडिफाई) पश्चात् दुर्घटनाको दरमा वृद्धि हुने र ठूला मोटरसाइकलको चर्को आवाजले समुदायमा नकारात्मक असर पर्ने गरेको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले दैनिक अन्य सवारी नियम उल्लङ्घन गर्ने करिब १२० सवारी साधनलाई कारवाही गर्दै आइरहेको छ।
जसमध्ये मापसे गरी सवारीसाधन चलाउने, जथाभावी सवारीसाधन पार्किङ गर्ने, सार्वजनिक सवारीसाधनले जथाभावी यात्रु चढाउने र उकाल्ने जस्ता सवारी साधनलाई कारवाही गरिएको जनाइएको छ।