अमेरिकी सेनाको फिर्ती प्रक्रियासँगै तालिबानले अफगानिस्तानमाथि कब्जा गरेको छ । राजधानी काबुलमा तालिबान लडाकुको उपस्थितिसँगै राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छाडेका छन् भने तालिबान लडाकुले राष्ट्रिपति कार्यालयमा कब्जा जमाएर अफगानिस्तानमा युद्ध अन्त्य भएको घोषणा गरेका छन् । झण्डै २० वर्षअघि अमेरिकी सेनाको बलबाट सत्ताबाट हटाइएका तालिबान अमेरिकी सेना फिर्ता भएसँगै पुनः शक्तिमा फर्किएका छन् ।
सन् २००१ मा अमेरिकी सेनाले हमला गरी अफगानिस्तानमा तालिबानलाई सत्ताच्युत गरेको थियो । त्यसपछि निकै कम रुपमा उपस्थिति देखाएको तालिबान एकाएक शक्तिशाली संगठनका रुपमा उदाउँदै अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको छ । दुई दशक लामो युद्धपछि अमेरिकी सेनाले आगामी ११ सेप्टेम्बरसम्म फिर्ती प्रक्रिया पूरा गर्ने तयारी गरिरहेको छ। तर त्यसअघि नै तालिबान काबुलमा पुगिसकेको छ ।
सन् २०१८ मा तालिबानले अमेरिकासँग वार्ता सुरु गरेको थियो । सन् २०२० को फेब्रुअरीमा तालिबान र अमेरिकाबीच कतारको दोहामा शान्ति सम्झौता भयो। जसमा अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता हुने र तालिबानले उनीहरूमाथि आक्रमणहरू नगर्ने प्रतिबद्धता थियो । सम्झौतामा तालिबान नियन्त्रित क्षेत्रहरूमा अल–कायदा अथवा अरू समूहका गतिविधि गर्न नदिने र राष्ट्रिय शान्तिवार्ताको प्रक्रियालाई अगाडि बढाउने उल्लेख थियो । तालिबानले त्यसपछि अमेरिकी सेनामाथि हमला नगरेपनि अफगान सुरक्षा फौज र सर्वसाधारणमाथि निशाना बनाउँदै आएका थिए ।
पश्तो भाषामा तालिबानको अर्थ ‘विद्यार्थीहरू’ भन्ने हुन्छ। अफगानिस्तानबाट सोभियत सेनाको फिर्तीपछि सन् १९९० को दशकमा उत्तरी पाकिस्तानबाट तालिबानको उदय भएको हो । मुख्यतः पश्तोन आन्दोलन सुरुमा धार्मिक संघसंस्थाबाट प्रारम्भ भएको विश्वास गरिन्छ । जुन संघसंस्थाले सुन्नी इस्लामको कडा धार सिकाउने साउदी अरबबाट आर्थिक सहयोग पाए।
तालिबान समूहले अफगानिस्तान र पाकिस्तान जोडिएका पश्तुन क्षेत्रहरूमा सत्तामा आएपछि शान्ति–सुरक्षा पुनस्र्थापित गर्ने र मुस्लिम शरिया कानुन लागु गर्ने वाचा गर्यो। अफगानिस्तानमा तालिबानको प्रभाव तीव्र रुपमा बढ्यो । सन् १९९५ को सेप्टेम्बरमा इरानसँग सीमा जोडिएको हेरात प्रान्तमाथि कब्जा गरे। त्यसको एक वर्षपछि नै राजधानी काबुलमा नियन्त्रण गर्दै राष्ट्रपति बुर्हानुद्दीन रब्बानीको सरकारलाई सत्ताच्युत गरे । उनी सोभियत संघको अतिक्रमणविरुद्ध अफगान मुजाहिदीन तयार पार्ने संस्थापकमध्ये एक थिए। सन् १९९८ सम्ममा तालिबानहरूले लगभग ९० प्रतिशत भूभागमाथि नियन्त्रण कायम गरेका थिए। सोभियतहरूलाई धपाइएपछि मुजाहिदीनबाट दिक्क भएका अफगानहरूले पहिलोपटक अगाडि सरेका तालिबानहरूलाई सुरुसुरुमा स्वागत गरे।
भ्रष्टाचारविरुद्ध चालेका कदम, कानुनविहीनताको अवस्था कम गर्ने र व्यवसाय फस्टाउनका निम्ति सडक निर्माण तथा आफूनियन्त्रित क्षेत्रमा सुरक्षा प्रदान गर्ने कामले उनीहरू लोकप्रिय भए । तर तालिबानले आफूहरूले गर्ने शरिया कानुनको कडा व्याख्याअनुरूप सजाय दिने काम गरे । जस्तै हत्यारा तथा व्यभिचारीहरूलाई मृत्युदण्ड दिने र चोरका हात काटिदिने नियम लागू गरे ।
पुरुषले दाह्री पाल्नुपर्ने र महिलाहरूले पूरै जीउ ढाकिने बुर्का लगाउनुपर्ने नियम कडाइपूर्वक लागू गरे । टेलिभिजन, संगीत र सिनेमामाथि प्रतिबन्ध लगाए भने १० वर्ष र सोभन्दा माथि उमेरका किशोरीहरूलाई विद्यालय जान रोक लगाए ।
न्यूयोर्कस्थि विश्व व्यापार केन्द्रमाथि सन् २००१ को सेप्टेम्बर ११ मा गरिएको हमलापछि विश्वको ध्यान अफगानिस्तान र तालिबानतर्फ तानियो । सो हमलाका प्रमुख योजनाकार ओसाम बिन लादेन र उनको संगठन अल–कायदालाई संरक्षण गरेको आरोप तालिबानमाथि लाग्यो ।
सन् २००१ को अक्टोबर ७ मा अमेरिकी नेतृत्वको गठबन्धन फौजले अफगानिस्तानमाथि आक्रमण सुरु गरेका थिए । डिसेम्बरको पहिलो साताभित्रै तालिबानलाई सत्ताच्युत गरेर अमेरिका समर्थित सरकार गठन गरिएको थियो । तर यसबीचमा तालिबानले साना ठूला हमला गरिरहेका थिए । सन् २०१५ को अगस्टमा तालिबानका प्रमुम मुल्लाह ओमारको मृत्यु भएको खबर बाहिर आयो । तर उनको मृत्युको दुई वर्षपछि मात्रै सो कुरा बाहिर आएको थियो । अस्वस्थताका कारण पाकिस्तानमा उपचारका क्रममा उनको मृत्यु भएको तालिबानले बताएको थियो ।
त्यसपछि नयाँ नेता मुल्लाह मन्सुर घोषित भए । उनी मुल्लाह ओमारका सहायक थिए। मुल्लाह मन्सुर सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा मारिए। त्यसपछि तालिबानका नेता मौलवी हिबातुल्लाह अखुन्दजादा भए।
फेब्रुअरी, २०२० मा अमेरिका–तालिबान शान्ति सम्झौता भएपछि तालिबानले आक्रमणको रणनीति परिवर्तन ग¥यो । तालिबानले पछिल्लो समयमा पनि पत्रकार, न्यायाधीश, शान्ति अभियानकर्मी र शक्तिमा रहेका महिलालाई निशाना बनाउँदै आक्रमण गर्दै आएका थिए ।
अब कसले सम्हाल्छ तालिबानी सत्ता ?
अफगानिस्तानमा तालिबानले कब्जा जमाएसँगै अब कसले सरकारको नेतृत्व गर्छ भन्ने प्रश्न उठेको छ । तालिबानको तर्फबाट अफगानी सत्ताको नेतृत्व गर्ने सम्भावित २ नाममा हिबातुल्लाह अखुन्दजादा र मुल्लाह अब्दुल गनी बरादरको नाम चर्चामा छ।
मुल्लाह गनी बरादर
मुल्लाह अब्दुल गनी बरादर सन् १९९४ मा तालिबानको स्थापना गर्ने चार संस्थापकमध्ये एक हुन् । सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाको हमलाबाट तालिबान सत्ताच्युत भएपछि उनी विदेशी फौजविरुद्धको संघर्षका प्रमुख कमाण्डर हुन् । सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका क्रममा उनी कराँचीबाट पक्राउ परेका थिए । सन् २०१२ सम्म बरादरका बारेमा धेरै जानकारी उपलब्ध थिएनन् ।
अफगानिस्तान सरकारले शान्ति वार्ताका लागि प्रस्ताव राख्दा तालिबानले आफ्ना बन्दी रिहा गर्नुपर्ने सर्त राखेको थियो । त्यसमा बरादरको नाम प्रमुख रुपमा उल्लेख थियो । सन् २०१३ मा उनी रिहा भए । उनी तालिबानका पूर्व प्रमुख नेता मुल्लाह ओमारले समेत सबैभन्दा बढी भरोसा गरेका र निकट सहयोगी थिए। पक्राउ पर्दा उनी तालिबानका दोस्रो सबभन्दा ठूला नेता थिए । उनी अमेरिकासँग शान्ति वार्ता गर्न निरन्तर लागिरहेका एक कमाण्डर पनि हुन् । सन् २०१८ मा कतारमा अमेरिकासँग वार्ताका लागि तालिबानले कार्यालय खोल्यो र उनी तालिबानको राजनीतिक प्रमुखका रूपमा त्यहाँ कार्यरत रहे ।
हिबातुल्लाह अखुन्दजादा
हिबातुल्लाह अखुन्दजादा अफगान तालिबानका प्रमुख नेता हुन्। कान्दहारबाट आएका उनी इस्लाम धर्मका विद्वान मानिन्छन् । उनले नै तालिबानको रणनीति बदलेर नयाँ दिशा दिएको मानिन्छ । तालिबानको गढ मानिने कान्दहारका भएका कारण पनि उनलाई नेतृत्वमा पुग्न सहज भयो । सन् १९८० को दशकमा तत्कालीन सोभियत संघविरुद्धको संघर्षका एक कमाण्डर थिए। यद्यपि उनी सैन्य कमाण्डर भन्दा धार्मिक विद्वानको रूपमा चिनिन्छन् ।
तालिबानलाई धार्मिक प्रशिक्षणहरु उनले नै दिने गर्दछन् । उनले दोषी पाइएका हत्यारा वा अवैध यौन सम्बन्ध राख्नेहरूलाई मृत्युदण्डको सजाय र चोरी गर्नेहरूलाई हात काट्ने आदेश दिएका थिए । हिबातुल्लाह तालिबानका पूर्वप्रमुख मोहम्मद मन्सुरका उपप्रमुख थिए।
सन् २०१६ को मेमा अमेरिकी ड्रोन हमलामा मन्सुर मारिएपछि उनी कमाण्डर बनेका हुन् । मन्सुरले आफ्नो इच्छापत्रमा हिबातुल्लाहलाई आफ्नो उत्तराधिकारी घोषित गरेका थिए।
तालिबानका शीर्ष नेता हिबातुल्लाह अखुन्दजादा राजनीतिक, धार्मिक तथा सैन्य मामिलाका प्रमुख हुन् । राजनीतिक मामिला हेर्ने उपप्रमुख मुल्लाह गनी बरादर हुन्। सैन्य मामिला हेर्ने उपप्रमुख पूर्व तालिबान प्रमुख तथा संस्थापक नेता मुल्लाह ओमारका छोरा मुल्लाह मोहम्मद याकुब छन् । हक्कानी सञ्जालका प्रमुख समेत रहेका सिराजुद्दिन हक्कानी पनि हिबातुल्लाहका अर्का उपप्रमुख हुन्।
तालिबानको न्यायिक संरचनाको प्रमुख रहेका मुल्लाह अब्दुल हकीम तालिबानका वरिष्ठ न्यायाधीश हुन् । २६ सदस्य रहेको रहबारी शुरा तालिबानको उच्चतम सल्लाहकार परिषद् तथा निर्णायक समूह मानिन्छ। तालिबानले अफगानिस्तानमा युद्ध अन्त्यको घोषणा गर्दै नयाँ शासन व्यवस्थाबारे छिट्टै घोषणा गर्ने बताएको छ । तालिबानसँगै गैर तालिबानले समेत तालिबानको नयाँ सरकारमा स्थान पाउने तालिबानका प्रवक्ता सोहेल शाहिनले बताएका छन् । एजेन्सीको सहयोगमा