एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन्।
त्यहाँको सरकार पराजित भएको छ भने राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका छन्। तालिबानका एक प्रवक्ताले अल जजिरासँग भने, ‘अफगानिस्तानमा युद्ध सकिएको छ।’
‘हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता’ उनले भने। उनले अब फेरि विदेशी शक्तिहरूले अफगानिस्तानमा तिनको विगतको विफल अनुभव नदोहोर्याउने आफूहरूले ठानेको बताए।
राष्ट्रपति अशरफ गनी उज्बेकिस्तानतर्फ गएपछि उनले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको भएको बताएका छन्।
आइतवार अबेर तालिबानहरू राष्ट्रपति भवनभित्र रहेका तस्बिर सार्वजनिक भएका थिए। तिनले राजधानी काबुलको ११ जिल्लाका सदरमुकाम कब्जा गरेको दाबी गरेका छन्।
काबुलमा अराजकता छाएको छ र त्यहाँका निवासी एवम् विदेशी नागरिकहरू काबुलबाट बाहिर निस्कन खोजिरहेका छन्। अमेरिकी नेतृत्वको फौजले देश छाडेलगत्तै २० वर्षपछि त्यहाँ तालिबान फर्केको अवस्थाले कैयौँ अफगानहरू त्रसित बनेका छन्।
काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका प्रत्यक्षदर्शीले बताए अनुसार त्यहाँ कर्मचारीहरूले आफ्नो कार्यस्थल छाडेका र मानिसहरू जहाजतर्फ दौडिरहेका थिए।
अमेरिकाले काबुलको रक्षाका लागि तैनाथ गरेको उसका ६ हजार फौजलाई अब विमानस्थल परिसरको सुरक्षामा खटाइने बताइएको छ।
अमेरिकी विदेश तथा रक्षा मन्त्रालयहरूले उनीहरूले विमानस्थलको रक्षाका निम्ति विभिन्न कदमहरू चालिरहेको भन्दै अमेरिकी तथा गठबन्धन सदस्यहरूलाई गैरसैनिक एवै सैनिक विमानमार्फत् उद्धार गर्न सकियोस् भन्ने प्रतिक्रिया दिएका छन्।
अमेरिकासहित पश्चिमा देशहरूले हतारहतार आफ्ना नागरिक तथा अन्यको काबुलबाट उद्धार गरिरहेको बताइएको छ।
तालिबानले महिनौँदेखि अफगानिस्तानका विभिन्न क्षेत्रमा नियन्त्रण सुरु गरेको थियो। पछिल्ला दिनहरूमा त्यो गति निकै तीव्र देखिएको थियो ।
लगभग सबै विदेशी सैनिकहरूले अफगानिस्तान छाडेपछि उक्त विद्रोही समूहले आफ्नो नियन्त्रण कायम गर्न सफल भएको हो।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयको बचाउ गरेका छन्।
उनले अर्को देशको आन्तरिक द्वन्द्वमा कहिल्यै अन्त्य नहुने अवस्थामा अमेरिकी उपस्थितिलाई आफूले उचित ठहर्याउन नसक्ने बताएका छन्।
तालिबानले आइतवार आफ्ना लडाकूहरूलाई काबुलमा प्रवेश गर्न आदेश दिएको थियो। सुरुमा उसले आफ्ना लडाकूलाई काबुल वरिपरि मात्र तैनाथ गरेको थियो।
सुरक्षा फौजले राजधानीका विभिन्न स्थान छाडेपछि त्यहाँ उत्पन्न अराजकता र लुटलाई रोक्न गइरहेको तालिबानलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।