एजेन्सी। अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुल छिर्न सुरु गरेका छन्।
रोएटर्सले आन्तरिक मामिलामन्त्रीलाई उद्धृत गर्दै लडाकुहरू राजधानीको सबैतिरबाट छिर्न थालेको जनाएको छ।
तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको दोहास्थित एक नेतालाई उद्धृत गर्दै रोएटर्सले जनाएको छ।
उनले सुरक्षा दिइएका क्षेत्रतर्फ जान महिलाहरूलाई आग्रह समेत गरेका छन्।
आइतबार बिहान मात्रै लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासंघर्ष नियन्त्रणमा लिएका थिए।
काबुल छिर्ने क्रममा तालिबान लडाकुहरूले ठूला प्रतिरोधको सामना गरिरहनुपरेको छैन। तर अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी गरेको छ।
राष्ट्रपतिको कार्यालयले पास्तो भाषामा ट्विटरमा लेखेको छ–”काबुलमा फाट्टफुट्ट गोली चलेको छ, काबुलमा आक्रमण भएको छैन। सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरू विदेशी साझेदारसँग मिलेर काम गरिरहेका छन्, स्थिति नियन्त्रणमा छ।”
तर एक अफगान सांसद फर्जाना कोचाईले मानिसहरू राजधानीबाट भाग्न
आतुर रहेको बताएकी छन्।