हेटाैडा। वाग्मती प्रदेशसभाका सदस्यसहित पदाधिकारीका आवास सुविधाबापत आर्थिक २०७७/७८ मा झण्डै एक करोड ९० लाखभन्दा बढी खर्च भएको देखिएको छ।
प्रदेशसभा सचिवालयकाअनुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्ष एक करोड ९० लाख चार हजार ७४९ खर्च भएको हो।
सचिवालयबाट मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुखबाहेक विभिन्न समितिका सभापति, सत्तापक्ष र विपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतक, प्रदेशसभा सदस्यलाई घरभाडाबापत रकम भुक्तानी दिइएको हो।
प्रदेशको राजधानीमा घर नभएका सांसदको हकमा भने प्रतिमहिना १५ हजार घर भाडाबापत उपलब्ध गराउँदै आइएको छ। राजधानी हेटौंडामै घर भएका प्रदेशसभा सदस्यलेसमेत आवास मर्मत शीर्षकमा प्रत्येक महिना सात हजार ५०० बुझ्दै आएका छन्। मुख्यमन्त्री तथा मन्त्रीले प्रदेश सरकारबाटै आवास सुविधा पाउँछन्।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदको सेवा तथा सुविधालाई व्यवस्थित गर्न २०७५ सालमा ऐन निर्माण भइसकेको र सोहीअनुसार सदस्यलाई सेवा तथा सुविधा उपलब्ध गराइएको सचिवालयले जनाएको हो।
प्रदेशसभा पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ अनुसार सभामुख र उपसभामुखका लागि प्रदेश सरकारले आवासको व्यवस्था गर्ने र आवासीय भवन मर्मत र सम्भार पनि सरकारले नै गर्ने व्यवस्था छ।
अन्य सदस्यको हकमा अनुसूची–१ मा उल्लेख गरिएअनुसारको व्यवस्था हुने भनिएको छ। जसमा सभामुख र उपसभामुखबाहेक सदस्यको हकमा विपक्षी दलका नेता, सत्तापक्षका मुख्य सचेतक, समितिका सभापति र विपक्ष दलको प्रमुख सचेतकलाई २५ हजारका दरले तथा सत्तापक्षको सचेतक, विपक्षी दलको सचेतक, र सदस्यलाई १५ हजारका दरले आवास तथा घरभाडाबापतको सुविधाको व्यवस्था गरिएको छ।