काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशमशेर राणाले राप्रपाको एकीकृत शक्तिले देशमा वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्ने बताएका छन् ।
‘एकीकृत भएको राप्रपाले समयको मागअनुरुप हाम्रो सामुन्नेमा जुन मौका आएको छ, त्यो मौका छोपेर वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्नेछ, पार्टी स्थापनाकालको उद्देश्य पूरा गर्नेछ,’ अध्यक्ष राणाले भने । एक ढिक्का राप्रपाले अब त्यो उद्देश्य पूरा गर्ने उनले विश्वास व्यक्त गरे ।
उनले करिब दुइतिहाई बहुमत प्राप्त कम्युनिस्टहरूको सरकारले जनादेशको दुरुपयोग गर्दै देशलाई तहसनहस बनाएको टिप्पणी गरे । ‘अहिले आएर नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले पनि कुनै आशा सञ्चार गर्न सकेको छैन,’ उनले भने । एक महिना बितिसक्दा पनि सरकार विस्तार नगरी पाँचजना मन्त्रीको भरमा सत्ता सञ्चालन गरेर गैरजिम्मेवारी प्रदर्शन गरेको उनको भनाइ थियो ।
शनिबार काठमाडौं क्षेत्र न–५ को कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राणाले महाधिवेशनको क्रममा सबै तह र तप्काका संगठनहरु निर्माण गर्न सक्रिय भएर लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए । सो अवसरमा विभिन्न दल परित्याग गरी ६५ जना राप्रपामा प्रवेश गरेका थिए ।