नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।
सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा ११ बजेपछि बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको नयाँ कार्यतालिका क्रियाशील सदस्यता विवादलगायतका विषयमा छलफल हुनेछ ।
हिजोदेखि सुरु भएको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशन कार्यतालिका केन्द्रीय समितिकै निष्कर्षबमोजिम बनाउने गरी प्रस्ताव पेश गरेका छन् । बैठकमा उपसभापति एवं अन्य राजनीतिक दल समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गरेका थिए ।
समितिले यही साउन १२ गते पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केही विवाद बाँकी सहितको क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।
कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गतका स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् ।