काठमाडौं। लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ। बैठकमा सत्तापक्षका सांसद भने अनुपस्थित छन्।
नेपाली कांग्रेसका नेता वीरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस्ताव पेस गरे। उनले सम्बोधन गर्दै सत्ता पक्ष अनुपस्थित रहेकाले धेरै नबोल्ने भन्दै अविश्वास प्रस्ताव पेस गरेका थिए।
कांग्रेस, माओवादी, जसपा, राजमोसहितको विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको छ।
आज बिहान बसेको एमाले संसदीय दलको बैठकले विशेष अधिवेशन आह्वानमा संवैधानिक प्रश्न उठाउँदै उपस्थित नहुने संकेत गरेको थियो।
मुख्यमन्त्री पोखरेलले भने पदबाट राजीनामा दिइसकेका छन्।
विशेष अधिवेशनको बैठक सुरु भएको जानकारी गराउँदै सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख अमिक शेरचन र एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आफूलाई टेलिफोन गरेर मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जानकारी गराएको बताए। तर प्रदेश प्रमुखबाट अधिकारिक पत्र प्राप्त नभएको उनले जानकारी दिए।