यौन हिंसाको मामिलामा दोषी टहर भएपछि न्युयोर्कका गभर्नर एन्ड्रयु कुओमोले राजीनामा दिएका छन् । हालसालै सार्वजनिक भएको उक्त जाँचको प्रतिवेदनमा कुओमोले केही महिलामाथि यौन हिंसा गरेको पाइएको बताइएको थियो ।
न्युयोर्कका महान्यायाधिवक्ता लेतितिया जेम्सले गत मंगलबार कुओमोले यौनजन्य हिंसा गरेको निष्कर्षसहित छानबिन प्रतिवेदन सार्वजनिक गरेकी थिइन् । छानबिनका क्रममा ११ जना महिलालाई यौनजन्य हिंसा गरेको पुष्टि भएको छ ।
महिलाहरूलाई जबर्जस्ती चुम्बन गरेको र गोप्य अंगहरूमा इच्छाविपरीत हात लगाएको बताइएको छ । कुओमोले भने आरोपहरू अस्वीकार गर्दै आएका छन् । उनले राजीनामा दिएर छानबिनमा सहयोग गर्ने बताएका छन् ।
सन् २०११ देखि निरन्तर न्युयोर्कको गभर्नर रहेका उनी अमेरिकी सत्ताधारी दल डेमोक्रेटिक पार्टीका नेता हुन् ।
कुओमोले आफ्नो राजीनामा १४ दिनभित्र लागू हुने बताएका छन् । अब कुओमोलाई लेफ्टिनेन्ट गभर्नर क्याथी होचुलले प्रतिस्थापन गर्नेछिन् । उनी न्युयोर्क राज्यको पहिलो महिला गभर्नर बन्नेछिन् ।