काठमाडाैँ । केही दिनयता मत्थर देखिएको वर्षा पुनः बढ्ने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखका मौसमविद् राजु प्रधानांगका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउँदै गरेकाले वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको हो। ‘न्यून चापीय रेखा नेपालतर्फ नजिक हुँदै छ,’ मौसमविद् प्रधानांगलेभने, ‘बिहीबारदेखि वर्षाको मात्रा बढ्ने र केही दिन जारी हुने देखिएको छ।’
यस विषयमा महाशाखाले सोमबार राति ८ बजे विशेष मनसुन बुलेटिन–७ जारी गरेको छ।
जसमा भनिएको छ: ‘सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई बिहीबारदेखि केही दिन धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।’
बुलेटिनअनुसार बिहीबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी÷धेरै भारी वर्षा तथा शुक्रबार र शनिबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी/धेरै भारी वर्षाको सम्भावना छ।
महाशाखाले भनेको छः आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
साथै मौसम पूर्वानुमान महाशाखाले उक्त प्रणालीलाई निरन्तर अनुगमन गरिरहेकाले मौसमबारे नियमित जानकारी राख्न पनि आम नागरिकलाई अनुरोध गरिएको छ।
महाशाखाले आज (मंगलबार) बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार यस्तो छ, आजदेखि ३ दिनसम्म वर्षा अनुमानः
साउन २६ गते मंगलबार (आज)
दिउँसोः केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १ र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
साउन २७ गते बुधबार
दिउँसोः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १ र प्रदेश नं २ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
साउन २८ गते बिहीबार
दिउँसोः देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छः देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १, लुम्बिनी प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।