काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले समयमै महाधिवेशन गरेर पार्टीलाई संवैधानिक संकटबाट जोगाउन सबै लाग्नुपर्ने निष्कर्ष निकालेको छ।
महामन्त्री डा। शशांक कोइरालाको निवास महाराजगञ्जमा सोमबार बसेको पौडेल पक्षीय केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठकले समयमै महाधिवेशन गरेर पार्टीलाई संवैधानिक संकटबाट जोगाउन सबै लाग्नुपर्ने निष्कर्ष निकालेको हो।
‘संवैधानिक संकटबाट पार्टीलाई जसरी पनि सवै भएर बचाउनपर्छ भन्ने हाम्रो निष्कर्ष हो,’ बैठकपछि नेता पौडेलले भने।
उनकाअनुसार बैठकले अझै पनि पूर्वनिर्धारित समयमै महाधिवेशन गर्न सकिने पनि निचोड निकालेको छ।
‘हाम्रो निचोड के हो भने अझै पनि सकिन्छ। अधिवेशन गरेर पार्टीको संवैधानिकता बचाउन अझै पनि सकिन्छ। त्यसको लागि हामी सबैले इमान्दारितापूर्वक प्रयास गर्नुपर्छ,’ नेता पौडेलले भने।
बैठकले केन्द्रीय कार्यसमिति बैठकअघि विवाद देखिएका ठाउँको क्रियाशील सदस्यतासम्बन्धी समस्या समाधान गर्ने र समाधान गर्न नसकिएका स्थानमा १३औँ महाधिवेशनकै क्रियाशील सदस्यहरूबाट अधिवेशन गर्नुपर्ने पनि निष्कर्ष निकालेको छ।
‘पार्टीका क्रियाशील सदस्यताको हकमा अब जति ठाउँमा समाधान भइसकेको छ। त्यसलाई तयार पारेर राख्ने, अब जति ठाउँमा अझै पनि एक दुई दिनमा मिलाउन सकिने जति मिलाउने, मिलाउन नसकिने जतिलाई अहिले थन्क्याएर १३ औँ महाधिवेशनकै क्रियाशील सदस्यहरूबाट चुनाव गर्न सकिन्छ भन्ने पनि हाम्रो धारणा छ,’ नेता पौडेलले भने।
सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनका बारेमा छलफल गर्न साउन २८ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। कांग्रेसले आगामी भदौ १६–१९ मा १४ औँ महाधिवेशन आयोजना गर्ने कार्यतालिका यसअघि नै निर्धारण गरेको थियो।
तर, उक्त कार्यतालिकाअनुसार कांग्रेसले महाधिवेशनको प्रक्रिया अगाडि भने बढाउन सकेको छैन।