

नेपालमा तय भएको एएफसी महिला एसियन कप- २०२२ को छनोट खेल अन्तर्गत समूह एफको खेल उज्वेकिस्तानमा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले कोरोनाका कारण नेपालमा तय भएको छनोट खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने जानकारी दिए ।
एसियाली फुटबल महासंघ (एएफसी) ले कोरोना बढ्दो क्रममा रहेको भन्दै नेपालमा हुने प्रतियोगिता उज्वेकिस्तानमा सारेको जानकारी एन्फालाई गराएको तुलाधरले बताए । यसअघि जारी गरेको तालिकामा नेपालले समूह एफको छनोट खेल दशरथ रंगशालामा आयोजना गर्ने भनिएको थियो । नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स रहेका छन् ।
छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला टोली अहिले अभ्यासमा छ । घरेलु मैदानमा हुने अभिलासाका साथ बलिया राष्ट्रविरुद्ध राम्रो गर्ने लक्ष्यसहित नेपाली टोलीले अभ्यास गरिरहेको थियो ।
तर, परिवर्तन तालिकाले केही प्रभाव पारेको छ । एन्फाले महिला टिमलाई बन्द प्रशिक्षणमा राखेर छनोटको तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । एन्फाले बंगलादेशलगायतका देशसँग मैत्रीपूर्ण फुटबलको तयारीसमेत गरेको छ ।
आयोजक एएफसीले २८ टोलीलाई चार समूहमा चार–चार र अर्को चार समूहमा तीन–तीन टोलीलाई समावेश गरेर छनोट खेलाउँदै छ । समूहको शीर्ष टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिता २०२२ मा भारतका तीन शहरमा हुँदै छ । त्यसका लागि भारतले आयोजना स्थलको पनि टुङ्गो लगाएको छ भने लोगो पनि सार्वजनिक गरिसकेको छ ।