सप्तरी। यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
असारको पहिलो साताबाट धान रोपाइँ सुरु भएर अहिले शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ। विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यसवर्ष उचित समयमा वर्षा भएकाले शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको हो।
कृषि ज्ञान केन्द्रका अनुसार धानखेतीका लागि करिब ७० हजार ५०० हेक्टर जग्गा रहेको सप्तरीमा यस वर्ष ५९ हजार हेक्टरमा धान रोपाइँ भएको छ।
जिल्लाको उत्तरी भेगमा चुरे जङ्गल र बाँझो जमिन हुने भएकाले त्यस ठाउँमा धानखेती गर्न गाह्रो हुने गरेको छ। केन्द्रका प्रमुख राजेन्द्रप्रसाद यादवले जिल्लाको १८ वटै स्थानीय तहमा धानखेती भएको बताउँदै समयमा वर्षा भएका कारण शतप्रतिशत धान रोपाइँ भएको बताए।
यसवर्ष विभिन्न खोला तथा नदीमा आएको बाढीका कारण ९०० बिघा जग्गामा रोपाइँ गरिएको धान डुबानमा परेको छ भने २०० बिघा जग्गाका कटानसमेत भएको उनको भनाइ छ।
प्रमुख यादवले भने, “सधैँ अकाशे पानीबाट निर्भर रहेको यसवर्ष समयमा वर्षा भएको र पानीसँगै विभिन्न नदी र खोलामा आएको बाढीका कारण ६०० हेक्टर जग्गा डुबान भएर क्षतिसमेत भएको छ।
जिल्लाको तिलाठी कोइलाडी, बलानबिहुल र तिरहुत गाउँपालिका तथा कञ्चनरुप र सप्तकोशी नगरपालिकामा लगाइएको धानबाली डुबानबाट क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। उक्त ठाउँमा बाढीले केही धानखेत कटानसमेत गरेको छ ।