काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो अभिव्यक्तिलाई विवादित भएपछि माफी मागेका छन्।
उनले नेपालमा खेलाडीसँगै खेलकुद पदाधिकारीहरुको मानसिकता पनि परिर्वतन हुनुपर्ने अभिव्यक्ति दिएका थिए।
मुख्य प्रशिक्षकको सो भनाइलाइ लिएर अनुशासन उल्लंघन भएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले कारबाही गर्न माग गरेका थिए।
प्रशिक्षक अल्मुताइरीले आफूले पछिल्लो तीन दशकमा नेपाल र अरु एसियाली देशको फुटबल कसरी विकास भएको छ भन्ने मात्र बताउन खोजेको स्पष्टीकरण दिएका छन्।
‘मेरा शुभेच्छुक र फुटबललाई माया गर्ने परिवारसँग छलफल गर्दा मेरो भनाइको गलत अर्थ लागेको महसुस भएको छ। त्यसप्रति म क्षमा चाहन्छु’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली जनता, विशेषगरी पूर्व खेलाडी र प्रशिक्षक वा जसले मेरो सोचबारे गलत बुझे, उनीहरु सबैप्रति क्षमाप्रार्थी छु।’