सुर्खेत । नेकपा एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभाका चार जना सांसद पदमुक्त भएका छन्। प्रदेशसभाको सोमबारको बैठकमा सभामुख राजबहादुर शाहीले चारजनाको पद रिक्त भएको जानकारी गराएका हुन्।
पार्टीको ह्विप उल्लंघन गर्दै फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका सांसदहरु सल्यान प्रदेशसभा (ख) बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क) बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नं. १ (ख) बाट निर्वाचित अमरबहादुर थापा पदमुक्त भएका हुन् ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ (१) र कर्णाली प्रदेशसभा नियवामली २०७४ नियम १९० बमोजिम एमाले संसदीय दलले चारैजना सांसदले दल त्याग गरेको पत्र प्रदेशसभा सचिवालयलाई जानकारी गराएपछि कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम सभामुखले सांसदहरु पदमुक्त भएको घोषणा गरेका हुन् ।
सांसदहरु पदमुक्त भएसँगै ४० सदस्यीय कर्णाली प्रदेशसभामा सांसदको संख्या ३५ भएको छ । माओवादी छोडेर एमालेमा प्रवेश गरेका धर्मराज रेग्मी यसअघि नै पदमुक्त भइसकेका छन् ।
अब प्रदेश सभामा सभामुखसहित एमालेका १६, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् ।