काठमाडाैं। नेकपा (माओवादी केन्द्र) ले साउन ३० गतेसम्म पार्टीका सबै वडासमिति गठन गरी त्यसको यथार्थ विवरण केन्द्रीय कार्यालयमा उपलब्ध गराउन केन्द्रीय सदस्यलाई निर्देशन दिएको छ।
पार्टी सङ्गठनलाई चुस्त, दुरुस्त तथा व्यवस्थित बनाउन सबै वडासमिति गठन, पुनःगठन गरी यथार्थ विवरण तयार पार्न निर्देशन दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले साउन ३० गते बस्ने केन्द्रीय समितिको बैठकमा सो विवरणसहित आउन निर्देश गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
यसअघि यही साउन २० गतेका लागि तय भएको केन्द्रीय समितिको बैठक थप तयारी गर्नुपर्ने भन्दै १० दिन पर सारिएको छ।
पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, सरकार विस्तार एवं आवश्यक तयारीका लागि केन्द्रीय समितिको बैठक पर सारिएको उनले बताए।
माओवादी केन्द्रले पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।
संविधान र लोकतान्त्रिक मूल्य र मान्यताका लागि स्थापित भएको गठबन्धनलाई देश र जनताको पक्षमा थप प्रभावकारी बनाउँदै देश र जनताको पक्षमा क्रियाशील बनाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
यस्तै, गठबन्धनको घटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको वर्तमान सरकारलाई जनपक्षीय बनाउनका लागि आफनो तर्फबाट पहल गर्ने माओवादी केन्द्रले जनाएको छ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रम, गठबन्धनमा आवद्ध दलसँग भएको छलफल तथा सरकार विस्तारलगायतका विषयमा जानकारी गराएका थिए।