![](https://batikanews.com/wp-content/uploads/2025/01/samsadiya-samiti-ramhari-khatiwada-80x100.jpg)
![](https://batikanews.com/wp-content/uploads/2021/04/mahabtha-thakur-g.jpg)
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सर्वोच्च अदालतमा आज दायर गरेको रिटमा उनले यादव पक्षलाई जसपाको आधिकारिता दिने र आफ्नो पक्षलाई नयाँ दल दर्ता गर्न दिने आयोगले ११ साउनमा गरेको निर्णय बदर गर्न माग गरेका छन् ।
आयोगले ११ साउनमा जसपा कार्यकारिणी समितिको बहुमत परीक्षण गरेको थियो । जसमा यादवको पक्षमा बहुमत (३४ सदस्य) उभिएका थिए भने ठाकुरको पक्षमा १६ जना मात्रै देखिएका थिए ।
बहुमत सदस्यले साथ दिएपछि निर्वाचन आयोगले यादव पक्षलाई आधिकारिकता दिएको थियो ।
आयोगको निर्णयले आफूहरु अन्यायमा परेको भन्दै ठाकुरले रिटमा १ असार २०७८ मा आफूले हेरेफेर गरेको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने र त्यसका आधारमा पार्टीको आधिकारिकता निरुपण गर्नुपर्ने माग गरेका छन् ।