

आगमि गाइजात्रालाई लक्षित गर्दै हाँस्यकलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले गाइजात्रे कमेडी ‘बकम्फुसाय नम’ सार्वजनिक गरेका छन् । गाइजात्रे कमेडीमा देशको समसामयिक राजनीतिक र बिकृति विसंगतीप्रति उनले तिखो प्रहार गरेका छन् ।
रिजालले यो पटकको गाइजात्रे कोसेलीमा एक प्यारोडी गीतसहित प्रहसन समेटेका छन् । प्रहसनको केन्द्र भने तीन बर्ष बढी सरकारमा बसेर बाहिरिएको ओली सरकारको क्रियाकलाप बनेका छन् ।
रिजालले ‘हुकुम बक्सियोस’ गीतलाई यसमा प्यारोडी मार्फत नेताहरुको रमाईलो प्रस्तुति समेटेका छन् । प्यारोडी गीतमा रजाल तथा शंकर कार्कीको शब्द रहेको छ भने स्वर शशी बिक्रम थापा तथा राधिका हमालले दिएका छन् ।
गाईजात्रे प्रस्तुतिको भिडियोमा दमन रुपाखेती, शशी बिक्रम थापा, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमल्सिना ‘नक्कली ओली’, सबु लामिछाने, बेदमणि अधिकारी, प्रेम शर्मा पौडेल, श्रेया दुलाल, शिवराम कार्की, धिरेन्द्र सिंह लगायतको अभिनय रहेको छ । गायिका राधिका हमाल भिडियोमा राष्ट्रपतिको भुमिकामा देखिएकी छन् ।
दुई दशकदेखि गाइजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘बकम्फुसाय नम’ २० औं कोसेली हो । गतबर्ष उनले ‘लकडाउन’ नामक गाइजात्रे कोसेली ल्याएका थिए ।
हाँस्यकलाकारका लागि गाइजात्रा एउटा महान उत्सव भएकोले हरेक वर्ष गाइजात्रे कोसेली ल्याउने गरेको रिजालको भनाई छ । अन्य कलाकारसँग मिलेर पनि गाइजात्रा प्रहसन गर्ने गरेको सुनाउँदै यस आउँने वर्ष पनि त्यस्तो प्रहसन आउने रिजालले सुनाए ।