

एजेन्सी। उत्तर तथा दक्षिण कोरियाबीच उच्च राजनीतिक तहमा आपसी कुराकानी गर्ने सोझो टेलिफोन सम्पर्क ‘हटलाइन’ सेवा पुनः फेरि सुरु भएको छ। उत्तर कोरियाले गत वर्ष जुनमा हटलाइन सम्बन्धबिच्छेद गरेको थियो।
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले दुई देशका शीर्ष नेताबीच विश्वास बनाउने र सम्बन्ध सुधार गर्ने विषयमा सहमति भएको जनाएको छ। ब्लू हाउसका अनुसार उत्तर कोरियाली र दक्षिण कोरियाली नेताबीच अप्रिल महिनादेखि धेरै पटक व्यक्तिगत पत्र आदानप्रदान भएको छ।
दुई देशबीचको उच्चस्तरीय वार्ता असफल भएपछि सम्बन्ध बिग्रिएका बेला उत्तर कोरियाले उक्त फोन काटिदिएको थियो भने दुई देशबीच सञ्चार गर्न सघाउने उद्देश्यले सीमामा निर्मित एउटा कार्यालय पनि हटाइदिएको थियो।
उत्तर कोरियाको सरकारी समाचारसंस्था केसिएनएका अनुसार शीर्ष नेताहरूले “आपसी विश्वास पुनः स्थापित गर्न तथा मेलमिलापलाई प्रवर्द्धन गर्न ठूलो पाइला चाल्ने” सहमति गरेका छन्।
केसिएनएले भनेको छ, “दुई देशका शीर्ष नेताबीच भएको सहमतिअनुसार उत्तर र दक्षिणले जुलाई २७ को १० बजेदेखि अन्तर-कोरियाली सञ्चार सम्पर्क लाइन पुनः सञ्चालन गर्न आवश्यक उपाय गरेका छन्।”
दुवै देशका प्रतिनिधिहरूले फोनमा तीन मिनेट कुरा गरेको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जनाएको छ।
एक दक्षिण कोरियाली अधिकारीले भने, “एक वर्षभन्दा बढी समयपछि फेरि कुरा गर्दा हामी प्रसन्न छौं। यसले सबै कोरियाली जनताका लागि राम्रो समाचार दिने) हाम्रो आशा छ।”
दक्षिण कोरियाका राष्ट्रपति मून जे-इन र उत्तर कोरियाका नेता किम जोङ-उनबीच सन् २०१८ मा तीन पटक भेटघाट भएको थियो। तर किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच दोस्रो शिखर बैठक विफल भएपछि उत्तर र दक्षिण कोरियाको सम्बन्धमा पनि तिक्तता आएको थियो।
दुई कोरियाबीच सन् १९५० देखि सन् १९५३ सम्म युद्ध भएर युद्धविराम भएपनि शान्ति सन्धि नभएकाले प्राविधिक रूपमा दुई कोरियाबीच अहिले पनि युद्ध चलिरहेको मानिन्छ।