एजेन्सी। देशभरी हिंसात्मक प्रदर्शनहरू चर्किएपछि ट्यूनिसियाका राष्ट्रपतिले प्रधानमन्त्री हिसेम मेशीशीलाई पदमुक्त गर्दै संसद् निलम्बन गरेका छन्।
सरकारले प्रभावकारी ढंगले कोभिड-१९ महामारी नियन्त्रण गर्न नसकेको भन्दै दशौं हजारले प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो।
देशमा शान्ति ल्याउन चाहेको भन्दै राष्ट्रपति काइस साईदले नयाँ प्रधानमन्त्रीको सहयोगमा आफूले नेतृत्व लिने बताएका छन्। तर विपक्षीहरूले उनको कदमलाई ‘कू’ काे संज्ञा दिएका छन्।
राष्ट्रपति कार्यालयमा आपत्कालीन सुरक्षा बैठक गरेपछि उनले टेलिभिजनमार्फत् सम्बोधन गरेका थिए। प्रधानमन्त्री बर्खास्त गरिएको खबरपछि मानिसहरूले हर्षोल्लास मनाउँदै सडकमा उत्रिएका थिए।
त्यसपछि राजधानी ट्यूनिसमा राष्ट्रपति साईद पनि भिडहरूमा सहभागी भएका थिए। ट्यूनिसहित अन्य थुप्रै सहरमा झडपहरू भएका छन्। त्यस क्रममा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै थुप्रै प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ।
राष्ट्रपति साईदले थप हिंसाहरू भए त्यसलाई नियन्त्रणमा लिन सेनाको प्रयोग गरिने चेतावनी दिएका छन्।
उनले भने,”म चेतावनी दिन चाहन्छु कि जोसुकैले पनि यदि अस्त्र उठाउनेबारे सोच्छ र गोली चलाउँछ भने सशस्त्र फौजहरूले गोलीको जबाफ गोलीमार्फत् दिनेछन्।”
संसद्माथि सम्भावित खतरा भएमा निलम्बन गर्ने अधिकार संविधानले आफूलाई प्रदान गरेको राष्ट्रपतिले दाबी गरेका छन्।
निलम्बनमा परेको संसद्का सभामुख राशिद गनुशीले ट्यूनिसियाको क्रान्ति र संविधानमाथि कू गरिएको आरोप लगाएका छन्।
दश वर्षअघि ट्यूनिसियामा क्रान्तिमार्फत् प्रजातन्त्र स्थापना भएको थियो। त्यहीँबाट सो क्षेत्रमा अरब क्रान्ति आरम्भ भयो। तर त्यसपछि थप रोजगारी तथा अवसरहरू सिर्जना हुने आशा गरिएपनि प्रगति नहुँदा मानिसहरू निराश छन्।