काठमाडौं । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो पहिलो प्राथमिक कोरोनाविरुद्धको खोप हुने बताएका छन् । आइतबार सिंहदरबारमा स्वास्थ्य राज्यमन्त्रीको शपथ लिइसकेपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै राज्यमन्त्री श्रेष्ठले अलिहेको आवश्यकता खोप भएको र आफू बढीभन्दा बढी जनतामा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले काम गर्ने बताए ।
‘जहाँसम्म मलाई लाग्छ अहिलेको सबैभन्दा आवश्यक भनेको खोप हो । खोपको व्यवस्थापन मेरो प्राथमिकतामा पर्ने छ । बढीभन्दा बढी जनतामा स्वास्थ्य सेवा पुग्नेगरी काम गर्नेछु,’ उनले भने ।
शिक्षा क्षेत्रमा सक्रिय मान्छे स्वास्थ्यमा आए भनेर आलोचना भइरहेको छ नि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले आफूसँग शिक्षासँगै स्वास्थ्य र खेल क्षेत्रको लामो अनुभव रहेको बताए ।
‘मैले लामो समय शिक्षा, स्वास्थ्य र खेलकुद समितिमा बसेर काम गरेको छु । मलाई स्वास्थ्यको इन्च–इन्च समस्याका बारेमा थाहा छ । नेपालको स्वास्थ्य सेवालाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्ने विषयलाई म एकदमै प्राथमिकता दिएर काम गर्ने छु,’ उनले भने ।
आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।