काठमाडाैं। टोकियो ओलम्पिकमा नेपाली खेलाडीहरूले खराब सुरूवात गरेका छन्।
उद्घाटनको दोस्रो दिन नेपाली खेलाडीहरू शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट पराजित भएका हुन्। शुटिङकी कल्पना परियारले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्।
महिला १० मिटर एयर राइफल इभेन्ट्समा प्रतिस्पर्धा गरेकी उनले प्रारम्भिक चरणमा ६१६.८ स्कोर गर्दै आफैंले बनाएको कीर्तिमान तोडेकी हुन्।
उनले यसअघि नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ६१४.५ स्कोर गर्दै कीर्तिमान रचेकी थिइन्।
टोकियोको ओशाका शुटिङ रेञ्जमा भएको प्रतिस्पर्धामा उनी समग्रमा ४६ औं स्थान रहँदै प्रतियोगिताबाट बाहिरिइन्।
कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४ तथा तेस्रोमा १०१.१, चौथोमा १०४.१, पाँचौँमा १०३.४ र अन्तिम सिरिजमा १००.७ स्कोर जोडेकी थिइन्।
प्रारम्भिक चरणमा शीर्ष आठ स्थानमा रहेका खेलाडी मात्र अन्तिम चरणमा प्रवेश गरेका छन्।
महिला ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी जुडोकी सोनिया भट्ट रसियाकी इरिना डोल्गोभासँग पराजित भएकी हुन्। इरिनासँग सोनिया १ मिनेट १६ सेकेन्डसम्म मात्र टिक्न सकिन्।
इरिनाले इप्पन जोड्दै सोनियालाई पराजित गरिन्। प्रतियोगिताको नियम अनुसार अब यदि इरिना फाइनलमा पुगिन् भने सोनियाले रेपचेज अर्थात् उत्कृष्ट खेलाडीसँग हारेमा कांस्य पदकका लागि खेल्न पाउने मौकामा फेरि खेल्न पाउनेछिन्।
कल्पना र सोनिया दुवै वाइल्ड कार्ड पाएर ओलिम्पिकमा सहभागी भएका हुन्।ओलिम्पिकमा अब नेपालबाट दुई पौडी खेलाडी र एथलेटिक्सको एउटा खेल खेल्न बाँकी छ।
एथलेटिक्स टोली आज शनिबार जापान प्रस्थान गरेको छ।