काठमाडौँ । नहरमा डुबेर चितवनमा दुईजना किशोरको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको हिजो साँझ स्थानीय नहरमा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार दिउँसो क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेका थिए।
नहरमा खसेका साथीलाई बचाउन जाने क्रममा अङ्कित पनि बेपत्ता भएका हुन्। दुई किशोर नहरमा बेपत्ता भएको खबर प्राप्त हुँनासाथ खोजी गर्दा २ सय मिटर तल उनीहरुलाई फेला पारिएको प्रहरीले जनाएको छ।
तत्कालै उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। उपचारका क्रममा उनीहरुको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
सिफारिस
लोकप्रिय