काठमाडौं। नेकपा एमालेले धारा ७६(५) संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
फ्लोर क्रस गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कारबाही गर्न नपाउने संविधानको धारा ७६(५) लाई सच्याउन संविधान संशोधन गर्नुपर्ने एमालेको निष्कर्ष छ ।
सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनर्स्थापना गर्दै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश जारी गरेको थियो । सो फैसलामा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि समर्थन गरेका कारण कुनै सांसदमाथि दल त्यागसम्बन्धी कारबाही गर्न नपाउने उल्लेख छ।
सर्वोच्चको फैसलाका आधारमा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले ३ साउनमा विश्वासको मत लिँदा एमालेका २२ सांसदले मत दिएका थिए ।
एमालेले विश्वासको मत दिएकै कारण कारबाही गर्न नसक्ने भएपछि विपक्षी गठबन्धनमा सामेल भएकोमा स्पष्टीकरण सोधेको छ ।