काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन्।
पार्टी क्रियाशील सदस्यता वितरणको विषयलाई लिएर उनले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सांसद पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन्।
क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ताले धर्ना दिइरहेका छन्।
उनीहरुले पार्टी विधानविपरीत क्रियाशील सदस्यता वितरण गरेको भन्दै रोक्न माग गरेका छन्। सांसद सिंहले धर्नामा बसेका कार्यकर्ताको मागमा ऐक्यबद्धता जनाउँदै सिंहले राजीनामा दिएका हुन्।
समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँधली भएको उनीहरुको आरोप छ। उनले भने, ‘कांग्रेसका लागि रातदिन काम गरेका कार्यकर्तालाई पाखा लगाइएको छ । ठेकदार, व्यापारीलाई क्रियाशील सदस्यता दिइएको छ ।’
सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्।