काठमाडौं। सर्वोच्च अदालतले विप्लव नेतृत्त्वको नेकपाका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश दिएको छ।
बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले वलीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।
नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट गराएको आरोपमा हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ, राजद्रोह र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालत ललितपुरले उनलाई २०७६ जेठ १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।
जिल्ला अदालतको आदेश वेरीतको रहेको भन्दै वलीले २०७६ जेठ १६ गते नै उच्च अदालत पाटनमा निवेदन दिएका थिए। उच्च अदालतले वलीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर गरेको थियो।
त्यसविरुद्ध वलीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। वली हाल मुटुको उपचारका लागि शहीद गंगालाल राष्ट्रिय मुटुरोग केन्द्रम उपचाररत छन्।
सर्वोच्च अदालतले जीवन रक्षार्थ मानवीय दृष्टिकोणबाट संवेदनशील भई अस्पताल भर्ना भएको अवस्थामा थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न लगाउनु मानवीय दृष्टिले
मनासिव नदेखिएको ठहर गरेको छ।