• vacancy ad
  • एमालेले संसद चल्न नदिएपछि अध्यादेशबाट बजेट ल्याउँदै कर्णाली सरकार

  • Ad Space available
  • सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशबाट ल्याउँदैछ।

    सरकारले असार १ गते आर्थिक वर्ष २०७८/७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो। त्यसपछि पटकपटक बसेको बैठकमा बजेटमाथिको छलफल हुन सकेन।

    ad space

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण बैठकमा छलफल हुन नसक्दा सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ।

    प्रदेशसभाबाट बजेट आउन सक्ने अवस्था नदेखिएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले जानकारी दिए।

    यसका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेबाट प्रदेशसभाको आठौं अधिवेशन अन्त्य भएको घोषणा गरेका छन्।

    गत वैशाख ३ गते नेकपा एमालेका प्रदेशसभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिएका थिए।

    मुख्यमन्त्रीलाई विश्वासको मत दिएर पार्टीको निर्देशन विपरीत कार्य गरेको भन्दै नेकपा एमालेले कर्णाली प्रदेशसभा संसदीय दलको सिफारिसमा उनीहरुलाई वैशाख १० गते पार्टीको साधारण सदस्य नरहने गरी निष्काशन गरेको थियो।

    तीमध्ये प्रकाश ज्वालाबाहेक बुढा, थापा र शाहीलाई मुख्यमन्त्री शाहीले मन्त्री बनाएका थिए। एमालेबाट कारबाही भएका तीन जना मन्त्री भएपश्चात् प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको एमालेले जेठ २४ गते बसेको प्रदेशसभाको आठौं अधिवेशनदेखि संसदीय मर्यादा, सरकारका कामका विषयमा कुरा उठाउँदै सदन अवरुद्ध गर्दै आएको थियो।

    सर्वोच्च अदालतको आदेशबाट जेठ २७ गते पुनर्बहाली भएका सदस्य ज्वालासहित तीन मन्त्री प्रदेशसभाको बैठकमा गएका छैनन्। पार्टी संसदीय दलले विपक्षी सिटमा बस्न निर्देशन गरेको र प्रदेशसभा सचिवालयले समेत उनीहरुका लागि प्रतिपक्षी लहरमा सिट व्यवस्था गरेपछि नीति तथा कार्यक्रमको मतदान र बजेट प्रस्तुत कार्यक्रममा उनीहरु उपस्थित भएनन्।

    सरकारमा सहभागी एमालेका बुढा, थापा र शाहीले आफूहरू सरकारमा सहभागी भएकाले सत्तापक्षको कुर्सीमा बस्न पाउनुपर्ने माग गर्दै आएका छन्।

    एमाले संसदीय दलले भने उनीहरूलाई प्रतिपक्षीको कुर्सीमा बस्न निर्देशन दिएको छ।

    “हामीले मन्त्रीलाई सत्तापक्षकै सिटमा बस्न दिनुपर्छ भन्दै एमालेलाई मनाउन खोज्यौं, तर उहाँहरूले मान्नुभएन”, सत्तापक्षका एक सदस्यले भने, “मन्त्रीहरू सभामा आए बजेट ल्याउनै नदिने धम्की दिएपछि बजेट ल्याउने दिन पनि मन्त्रीहरू सभाबाहिरै बस्नुपर्‍यो।”

    आफ्नो दलका मन्त्रीहरु फिर्ता नभएपछि एमालेले संविधान, लोकतन्त्र र संसदीय मर्यादा विपरीत सरकार गठन भएको भन्दै प्रदेशसभा अवरोध गर्दै आएको छ।

    नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहले सर्वोच्चको अन्तरिम आदेश र सभामुखले नेकपा एमाले प्रदेशसभा दलको सदस्यको हैसियतमा कायम हुन गरेको रुलिङ् कार्यान्वयन गरेकोले बजेटमाथि छलफल हुन नसकेको र सरकारले अध्यादेशमार्फत बजेट ल्याउने मनसायले यो अवस्था आइपुगेको आरोप लगाएका छन्।

    एमालेले फिर्ता हुन निर्देशन दिएका वनमन्त्री बुढा, भौतिक पूर्वाधारमन्त्री थापा र कृषिमन्त्री शाही फिर्ता नभएपछि असार ३० गते बसेको प्रदेशसभाको आठौं अधिवेशनको १८औं बैठक पनि कार्यसूचीमा प्रवेश नै नगरी एमालेको अवरोधका कारण स्थगित भएको थियो।

  • ad space
  • सिफारिस
    लोकप्रिय