काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचौँ पटक प्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन्। विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका देउवा धेरै पटक प्रधानमन्त्री बन्ने नेतामध्ये एक हुन् । यद्यपि उनको प्रधानमन्त्रीको कार्यकाल विवादमुक्त भने छैन ।
पहिलो पटक प्रधानमन्त्री बन्दा उनलाई नै ४० बुँदे माग प्रस्तुत गर्दै माओवादीले २०५२ सालमा जनयुद्ध थालेको थियो भने २०५८ मा प्रजातन्त्र लगेर दरबारमा बुझाएको आरोप खेपे । २०६१ मा पनि उनलाई राजाले असक्षम भन्दै प्रधानमन्त्रीबाट हटाएका थिए ।
उनी गणतन्त्र स्थापनापछि दोस्रो पटक प्रधानमन्त्री बनेका हुन् । सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिएका उनले २०२२ सालमा विद्यार्थीबाट राजनीति सुरु गरेका हुन्। उनी नेपाल विद्यार्थी संघको संस्थापक सभापति हुन् । पञ्चायतविरोधी आन्दोलनमा पटकपटक उनी जेल परेका थिए । उनले विभिन्न समयमा गरी ९ वर्ष जेल जीवन बिताएका छन् ।
२०४६ सालको जनआन्दोलनपछि देउवा सुदूरपश्चिम क्षेत्रमा नेपाली कांग्रेसका प्रमुख नेताका रुपमा उदाए । २०४८ सालमा डलेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बने ।
२०५१ सालको मध्यावधि निर्वाचनमा पनि निर्वाचित भएका उनी संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता बने। २०५२ सालमा मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी संयुक्त सरकारको प्रधानमन्त्री भए ।
२०५२ सालमा देउवा प्रधानमन्त्री भएका बेला बाबुराम भट्टराई र पम्फा भुसालले ४० बुँदे मागपत्र बुझाएका थिए । तर त्यो माग पूरा नभएपछि सोही वर्ष फागुन १ गतेदेखि माओवादीले देशमा सशस्त्र विद्रोह सुरु गरेको थियो । संयोग नै मान्नुपर्छ यतिबेला माओवादीको समेत समर्थनमा बनेको देउवा नेतृत्वको सरकारमा भुसाल उर्जामन्त्री बनेकी छन् ।
२०५६ सालमा डडेलधुराबाटै उनी पुनः निर्वाचित भए । देउवा २०५८ साल साउनमा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । त्यसै वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले उनलाई पदच्युत गरे । ज्ञानेन्द्रको सो कदमविरुद्ध पाँच दल आन्दोलित भएपछि २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरे । तर फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नो हातमा लिँदै देउवालाई हटाए ।
त्यसपछि देउवालाई राजाले गठन गरेको शाही आयोगले भ्रष्टाचार अभियोग लगाएको थियो । सो आयोग अवैधानिक भन्दै उनले बयान दिन अस्वीकार गरे । उनलाई शाही सरकारले भ्रष्टाचारको अभियोगमा पक्राउ समेत गरेपनि सर्वोच्च अदालतले आयोगलाई अवैधानिक भन्दै खारेज गरिदिएपछि उनी छुटे।
उनले २०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । २०६२÷६३ सालको जनआन्दोलनपछि २०६४ सालमा कांग्रेस फेरि एकीकरण भयो । देउवा २०७४ सालमा पुनः चौथो पटक प्रधानमन्त्री बनेका थिए।
२०७२ साल फागुनमा भएको १३ महाधिवेशनबाट उनी नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन् । देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन्।