विराटनगर। उच्च अदालत विराटनगर इलाममा कार्यरत विमलादेवी पराजुलीको हत्या भएको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो। सोमबार कार्यालय परिसरकै बलेँसीमा मृत फेला परेकी विमलाको हत्या नामसालिङमा दरबन्दी रहेर हाल मुख्य न्यायाधीशकै सुरक्षा गार्डका रूपमा कार्यरत प्रहरी युवराज बानियाँले गरेको खुलेको छ।
मुख्य न्यायाधीश हाल बिदामा रहेकाले कोठाको साँचो सुरक्षा गार्ड बानियाँसँग नै रहेकाले सो स्थानमा घटना घटेको हुनसक्ने अनुमान प्रहरीको छ। अभियुक्तलाई सोमबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार धनकुटा होलीखर्क–५ घर भई इलाममा कार्यरत अभियुक्त बानियाँ र मृतक कर्मचारीबीच लामो समयदेखि सम्बन्ध रहेको खुलेको छ । उनीहरूबीच पैसाको बार्गेनिङ भएको बानियाँको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक श्रेष्ठले बताए।
मृतक महिलाको दाँहिने नाडीमा चोट भएको बताइएको छ। बयानमा अभियुक्त बानियाँले घाँटी थिचेर हत्या गरेको बताएको प्रहरी प्रमुख श्रेष्ठले बताए।
कार्यालय समयपछि सबै आफ्नो घरतर्फ गए पनि मृत फेला परेकी महिला उच्च अदालतभित्रै रहेको तरकारी बारीतर्फ गएको बताइएको छ। दुई जनाबीच भनाभन भएको र घटना घटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
मृतक महिलाले लगाएको करीब दुई तोलाको सिक्रीसमेत अभियुक्त बानियाँ बस्ने ठाउँबाट बरामत गरिएको छ। मुख्य न्यायाधीश बस्ने क्वाटरको कोठामा घटना घटाइ घिसारेर लगेर बलेँसीमा फालेको अभियुक्त बानियाँले दिएको बयानमा खुलेको छ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया विमलादेवी पराजुली केही समय अघिदेखि उच्च अदालत इलाम विराटनगर इजलासमा कार्यरत थिइन्।