काठमाडौँ । जातीय विभेदको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानले तनहुँकी रूपा सुनारविरूद्ध प्रहरी कार्यालयमा जाहेरी दिएकी छन्।
प्रधानले रूपाविरूद्ध आइतबार दिउँसो महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।
‘आफ्नो बेइज्जति गरेको, अफवाह फैलाएको लगायतमा प्रधानले जाहेरी दिएकी छन्,’ उनले भने।
आफूविरूद्ध बेइज्जती गरेको, झुठ्ठो अफवाह फैलाएको, वैयक्तिक गोपनियता भंग गरेको र प्रतिलिपी अधिकार उल्लंघन गरेको भन्दै प्रधानले रूपाविरूद्ध जाहेरी दिएकी हुन्।
कोठा माग्न जाँदा थरकै कारण नदिएको भन्दै रूपाले प्रधानविरूद्ध असार १ गते जातीय भेदभावको कसुरमा जाहेरी दिएकी थिइन्। जाहेरीपछि प्रधानलाई प्रहरीले पक्राउ गरी तीन दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाएको थियो।
प्रहरीले अनुसन्धान सकाएर काठमाडौंको सरकारी वकिल कार्यालय बुझाएको थियो। कार्यालयले त्यस प्रतिवेदनमाथि थप अनुसन्धान गर्नू भन्ने आदेश दिएपछि सरस्वती प्रधान उनका श्रीमान् मुकुन्दको रोहवरमा छुटेकी थिइन्।
घरबेटी प्रधानले आफूले रूपामाथि कुनै विभेद नगरेको बताउँदै आएकी छन्। यसअघि पनि उनले मानव अधिकार आयोगमा रूपाविरूद्ध उजुरी दिएकी थिइन्।
निषेधाज्ञाको समयमा पिसिआर रिपोर्टबिना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरीबेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिई आफ्नो स्वतन्त्रता हनन् गरेकाले कारबाही गरिनु पर्ने माग राखेकी थिइन्।
रूपाले पनि आफूविरूद्ध प्रहरी कार्यालयमा जाहेरी परेकोबारे जानकारी पाइसकेको बताइन्।