काठमाडौँ . नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रयोजनार्थ क्रियाशील सदस्यता वितरण र नविकरणबारे एक सय ११ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको छानबिन सिध्याएको छ । क्रियाशील सदस्यता छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले एक सय ११ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता छानबिन गरेर सकिएको जानकारी दिए ।
‘आजसम्म एक सय ११ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सदस्यता विवाद टुंगियो,’ प्रवक्ता पौडेलले भने, ‘ती क्षेत्रका केही वडा स्थगित गरेका छौं । ती वडाका समायोजनसम्बन्धी मुद्दा रहेका सदस्यता मात्रै स्थगित गरिएको छ ।’
बाँकी ५४ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको विवाद मात्रै मिलाउन बाँकी रहेको समितिले जनाएको छ । ती क्षेत्रमा पनि समायोजनका मुद्दा नभएका क्षेत्रमा टुंग्याउन धेरै समय नलाग्ने प्रवक्ता पौडेलले बताए ।
पौडेलका अनुसार अहिलेसम्म ६७ जिल्लाका अधिकाशं स्थानको सदस्यता विवाद टुंगिएको छ । यो महिनाको मसान्तसम्म सबै विवाद टुंगिने उनले बताए ।
चार असारमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले २० असारसम्म सदस्यतासम्बन्धी सबै विवाद टुंग्याएर सभापति शेरबहादुर देउवालाई बुझाउने समयावधि दिएको थियो । तर, त्यो समयमा नसकिएपछि असार मसान्तसम्म सक्न भनिएको छ ।



