एजेन्सी। तालिबान विद्रोहीले अफगानिस्तान र इरानको सीमा क्षेत्र नियन्त्रणमा लिएका छन् ।
अफगान अधिकारीहरुले तालिबानले इरानसँगको महत्त्वपूर्ण सीमा नाका आफ्नो नियन्त्रण लिएको बताएका छन्।
इस्लाम काला नामक नाकाका सबै गतिविधि रोकिएको एक भन्सार अधिकारीले बताएका छन्। अमेरिकी सेना फिर्ता प्रक्रियासँगै अफगानिस्तानमा तालिबानको दबदबा बढेको छ।
भिडिओ फुटेजमा तालिबान फौजले सीमा भन्सार कार्यालयबाट अफगान झन्डा उतारेको जस्तो देखिएको छ।
इस्लाम काला नामक सो नाका इरानसँगको सबभन्दा ठूलोमध्येको व्यापारिक नाका हो। सो नाकाबाट अफगानिस्तान सरकारले मासिक २ करोड डलर राजस्व उठाउँदै आएको छ।
गत महिनामात्रै तालिबानले अफगानिस्तान र ताजिकिस्तानको मुख्य सीमानाका कब्जा गरेका थिए। तालिबानले अफगानिस्तानको ८५ प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ।
यद्यपि सरकारले तालिबानको दाबीलाई अस्वीकार गरेको छ। यद्यपि तालिबानले एकतिहाइ भूभागमाथि भने नियन्त्रण कायम गरिसकेको छ ।