

एजेन्सी। बङ्लादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ ।
घटनामा परी अरु ३० भन्दा बढी घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ ।
प्रहरीले घटनास्थलमा अरु पनि परेको हुनसक्ने भन्दै खोजी तथा उद्धार कार्य जारी नै रहेको पनि जानकारी दिएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ । सुरक्षित नै मानिएको बङ्लादेशको औद्योगिक क्षेत्रमा रहेको उद्योगको भवनमा आगलागी भएको जनाइएको छ ।
बङ्लादेशको राजधानी ढाकामा रहेको ढाका अपार्टमेन्टमा पनि यसअघि सन् २०१९ मा भएको आगलागीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको थियो ।अहिलेको घटना भने रुपगञ्जमा रहेको हाशेम फुड एण्ड बेभरेज कारखानामा भएको हो । घटनास्थल ढाका सहरभन्दा बाहिर औद्योगिक क्षेत्रमा पर्दछ ।
घटनाका बारेमा सूचना प्राप्त हुने वित्तिकै गएको प्रहरीले सुरुमा तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गरेको थियो । पछि उद्धार गर्दै जाँदा ५२ जनाको मृत्यु भएको पुष्टि गरेको हो।