काठमाडौं। माओवादी केन्द्रको दर्ता खारेज गर्न माग गर्दै एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरुले निर्वाचन आयोगमा निवेदन दिएका छन्।
माओवादी छाडेर एमालेमा गएका रामबहादुर थापा बादल समूहका नेताहरूले आयोगमा निवेदन दिएका हुन्। उनीहरूले २०६९ यता महाधिवेशन नगरेको र १३ साउन २०७३ मा पार्टी एकताका नाममा आयोगलाई झुक्याएको आरोप लगाउँदै उनीहरूले माओवादी केन्द्रको दर्ता खारेज गर्न माग गरेका छन्।
त्यसबेला माेहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) विभाजित गरेका बादलकाे समूहसँग तत्कालीन एनेकपा(माओवादी)को एकता भएर माओवादी केन्द्र बनेको थियो।
माओवादी केन्द्रको दर्ता खारेजीको मागसहितको निवेदन दिन अधिवक्ता सरोज बुढाथाकीसँगै माओवादीबाट एमालेमा प्रवेश गरेका लीलबहादुर थापा र रामचन्द्र मण्डल आयोग पुगेका थिए।
एमालेमा प्रवेश गरेपछि तत्कालील प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी, राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल, चन्द्रबहादुर खड्का, प्रदेशसभा सदस्य मण्डल लगायतलाई माओवादी कारबाही गरेपछि सांसद पद गुमाएका थिए।