एजेन्सी। संयुक्त राष्ट्रसंघीय निकायले इरानले पारमाणविक हतियार बनाउन सकिने संवर्धित युरेनियमको उत्पादनको प्रक्रिया सुरु गरेको जनाएको छ।
तेहरानले इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सीलाई अनुसन्धानका लागि ऊर्जा उत्पादन गर्ने प्रक्रिया थालेको जानकारी दिएको हो।
बेलायत, फ्रान्स र जर्मनीका अधिकारीहरूले भने इरानको कदमले सन् २०१५ को परमाणु सम्झौतालाई पुनर्जीवित गर्ने वार्तालाई असर गर्न सक्ने बताएका छन्।
अमेरिकाले भने यसलाई दुर्भाग्यशाली कदम भएको टिप्पणी गरेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१८ मा सो सम्झाैता अमान्य घोषित गरेका थिए। सन् २०१५ को सम्झौतामा इरानलाई अस्त्र बनाउने कार्य रोक्ने र अमेरिका एवम् युरोपेली देशले आर्थिक प्रतिबन्ध खोल्ने प्रावधान थियो।
ट्रम्पले सम्झौता अमान्य भन्दै आर्थिक प्रतिबन्धहरू लगाएपछि इरानले परमाणु कार्यक्रम अघि बढाएको थियो।
अमेरिकी राष्ट्रपति जो बाइडनले अहिलेसम्म ट्र्म्पको प्रतिबन्धहरूलाई कायम राखेका छन्। अमेरिका र युरोपका प्रतिनिधिहरू भियनामा यो सम्झौतालाई पुनर्जीवित गर्ने प्रयासमा वार्तामा छन्।
सो वार्ता एप्रिल २० देखि जुन २० सम्म चलेको थियो। अर्को चरणको वार्ताको लागि मिति तोकिएको छैन। इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम राइसीले सम्झौता पालना गर्न अमेरिकाले प्रतिबन्ध फुकुवा गर्नुपर्ने बताउँदै आएका छन्।
एक विज्ञप्तिमा इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सीले भनेको छ, “आज इरानले एजेन्सीलाई दिएको जानकारी अनुसार २० प्रतिशत शुद्धीकरण गरिएको युरेनियम अक्साइड यू-२३५ अनुसन्धान र विकास प्रयोगशालामा पठाइने बताएको छ जहाँ त्यसलाई यूएफ४ र २० प्रतिशत शुद्ध युरेनियम बनाइने छ र त्यसलाई ऊर्जा उत्पादनमा प्रयोग गरिने छ।”
बेलायत, फ्रान्स र जर्मनीले एक संयुक्त वक्तव्यमा इरानको कदमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। “इरानले परमाणु हतियार विकासका लागि महत्त्वपूर्ण कदमका रूपमा रहेको युरेनियमको अध्ययन र उत्पादन गर्नुपर्ने कुनै विश्वसनीय गैरसैनिक कारण छैन। यो पछिल्लो कदमले इरानले छ चरणमा भएको भियना वार्ताको उपलब्धिलाई सफल बनाउने विषयलाई जोखिममा पारेको छ।”
विज्ञप्तिमा इरानलाई वार्तामा आउन भनिएको छ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले वार्ताको लागि समय सीमा नतोके पनि इरानको कदमले सम्झौतामा फर्कने कुरालाई असर गर्ने बताएका छन्।